काठमाडाैँ – तीन दिनदेखिको अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ४८ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका अनुसार ११ जिल्लाका ४८ जनाको बाढी तथा पहिरोका कारण मृत्यु भएको हो ।
बाढी र पहिरोका कारण सुदूर पश्चिम प्रदेशका जिल्लाहरुमा सबैभन्दा बढि क्षति पुगेको छ । मन्त्रालयका अनुसार बाढी तथा पहिरोबाट डोटीमा ९, हुम्लामा ६, बैतडीमा ४, कालिकोट र डडेलधुरामा १–१ जनाको मृत्यु भएको छ । यस्तै प्युठानमा १, धनकुटामा ६, सुनसरीमा २, पाँचथरमा ६, इलाममा ११ र उदयपुरमा १ जनाको मृत्यु भएको छ ।
यस्तै डोटीमा १ जना, बझाङमा २३ जना, प्युठानमा २ जना र इलाममा ५ जना बेपत्ता भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यस्तै ७ जिल्लाका २३ जना घाइते भएका छन् भने २० घरमा बाढी पहिरोले क्षति पुर्याएको पनि मन्त्रालयले जनाएको छ । अझै केही दिन मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पहिरोमा परी इलाममा थप १२ जनाको ज्यान गएको छ । पहिरोले पुरिँदा फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ५ जनाको ज्यान गएको छ । फाकफोकथुम–३ आम्चोकमा एकै परिवारका ४ जनाको पहिरोले पुरेर ज्यान गएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
पश्चिमबाट मौसम बदलिँदै पूर्वतर्फ बर्षा सुरु भएको छ । महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको छ । पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ । यसैबिच विपत्तिमा परेकाहरुको उद्धार र व्यवस्थापनका लागि हेलीकोप्टरसहित नेपाली सेना, नेपाल प्रहरी, जनपद प्रहरी खटिएका छन् । पाकेको धान भित्र्याउन ठिक्क पारिएका बेला भारी बर्षा भएपछि कृषक सबैभन्दा बढि मर्कामा परेका छन् ।
प्रतिक्रिया