राजनीति

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै



काठमाडौँ –नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय तह सम्मेलन, पार्टी सदस्यता नवीकरण तथा विभाग गठनबारे बैठकमा छलफल हुने उहाँले बताउनुभयो । आजको बैठकमा माओवादी केन्द्रले असोज मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा वितरण सम्पन्न गर्ने निर्णयअनुसारको प्रगतिको विषयमा छलफल हुने भएको छ । स्थानीय तह अन्तर्गत वडा पार्टी कमिटी र जनवर्गीय संगठनका सम्मेलनबारे जानकारी लिने र गर्न बाँकीमा पहल गर्नेबारे बैठकमा छलफल हुने महराले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि टोल भेला कात्तिक ६ सम्म, वडा सम्मेलन कात्तिक १३ मा र स्थानीय तहको सम्मेलन मंसिर ४ मा गर्ने तय गरेको छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौंमा हुँदै छ ।