काठमाडौँ –अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोना संक्रमणबाट निधन भएको छ । रिपब्लिकन पार्टीसँग आबद्ध पावेलको ८४ वर्षको उमेरमा निधन भएको हो ।
सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा पावेल अमेरिकी विदेशमन्त्री बनेका थिए । अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने उनी पहिलो व्यक्ति हुन् । उनले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएको जानकारी पावेलको परिवारले वक्तव्यमार्फत दिएको छ । उनी अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहेका थिए । सन् १९५१ मा नेपालसँग कूटनीतिक सम्बन्ध कायम गरेको संयुक्त राज्य अमेरिकाका तर्फबाट पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने उनी एक मात्र अमेरिकी विदेशमन्त्री हुन् ।
माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा रहँदा सन् २००२ को जनअरी १८ मा उनी नेपाल भ्रमणमा आएका थिए । त्यस बेला उनले तत्कालीन राजा ज्ञानेन्द्र, प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीहरूलाई भेटेका थिए । यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी पूर्वविदेशमन्त्री पावेलको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् । ट्वीट गर्दै देउवाले सन् २००२ मा पावेलसँग भेटेको स्मरणसमेत गरेका छन् ।
प्रतिक्रिया