मौसम

तीन दिन भारी वर्षा, उच्च हिमाली भेगमा हिमपात हुने, सर्तकता अपनाउन मौसमविद्को आग्रह


काठमाडौँ – भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण नेपालका अधिकांश स्थानमा वर्षा भइरहेको छ । उच्च पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुने भएकाले विशेष सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन । भारतको केरला राज्यमा भारी बर्षाका कारण आएको बाढीले जनजीवन प्रभावित बनेको छ । केरलाका विभिन्न भू–भागमा जारी भारी वर्षासँगै आएको बाढीका कारण हालसम्म २० जना भन्दा बढीको ज्यान गई सकेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन । अरु थुप्रै मानिस हराइरहेका छन् ।

भारतको केरलामा वर्षाले मच्चाएको वितण्ड र नेपालमा पनि विभिन्न स्थानमा जारी वर्षाका कारण मानिसहरु त्रासमा छन । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा मौसममा बदली भई सामान्यदेखि भारी समेत हुने जानकारी दिएसँगै सर्वसाधरण चिन्तित बनेका छन् । केरलाकै वर्षा नेपाल प्रवेश गर्न लागेको त होइन भन्ने जिज्ञासा पनि छ । मौसम पूर्वानुमान महाशाखाले भने नेपालमा हुने वर्षा र भारतको वर्षाबीच कुनै सम्बन्ध नरहेको बताएका छन् । नेपालमा जारी वंगालको खाडीमा बनेको न्यून चापिय रेखा र पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

बुधबारसम्म देशका विभिन्न क्षेत्रमासामान्यदेखि भारी वर्षा साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण नदी तथा खोलाहरुको पानीको सतह बढ्ने,पहिरो समेत जाने सम्भावना रहेकाले सकेसम्म यात्रा नगर्न र गर्नै परे सतर्कता अपनाउन आग्रह गरेको छ । विहीबारबाट मौसममा क्रमश सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबारबाट देशभर सामान्यदेखि भारी वर्षा जारी छ । खेति थन्क्याउने समयमा वर्षा हुँदा देशभरका कृषक मर्कामा परेका छन् ।