काठमाडौँ – नेपाल जारी साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । केही समयअघि भएको खेलमा नेपालले बंगलादेशसँग एकएककाे बराबरी खेल्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
बंगलादेशविरुद्ध मैदान उत्रेको नेपालले ऐतिहासिक उपलब्धि प्राप्त गर्दै साफको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको थिएन । यसै दुर्भाग्यपूर्ण इतिहासलाई ध्यानमा राखेर मैदान उत्रिको नेपाल नयाँ इतिहास लेख्न सफल भएको हो । अब नेपालले साफ च्याम्पियनशिपको २८ वर्षे यात्रामा पहिलो पटक उपाधिको लागि माल्दिभ्स र भारतबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
दक्षिण एसियामा सबैभन्दा लोकप्रिय वा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप हाल माल्दिभ्सको राजधानी मालेमा जारी छ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपालले बंगलादेशसँग बराबरी गरेसँगै बंगलादेश फाइनलको होडबाजीबाट बाहिरिएकाे हाे । यसअघि श्रीलंका पहिलो नै फाइनलको होडबाजीबाट बाहिरिसकेको थियो ।
नेपालको साफको फाइनलसम्मको यात्रा हेर्ने हो भने सुरु देखि नै आफूलाई उपाधि दावेदारको रुपमा प्रस्तुत गरेको थियो । आफ्नो पहिलो खेलमा साविक विजेता माल्दिभ्सलाई १–० ले परजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले स्तब्ध पारेको थियो । तेस्रो खेलमा भने भारतसँग भने १–० ले हारेको थियो । अन्तिम खेलमा बराबरीको मात्र आवश्यक रहे पनि नेपाल स्प्रष्ट ३ अंककै लागि खेलेको थियो । बंगलादेशलाई भने जितको नै आवश्यता थियो । पहिले नै एक जित, एक हार र एक बराबरी खेलेको बंगलादेश अन्तिम खेलमा पनि अंक बाड्न पुग्यो र फाइनल पुग्नु भन्दा एक कदम अघि नै बाहिरियो ।
नेपाल र बंगलादेशको फुटबलको इतिहास हेर्ने हो भने दुई खेलमा बाहेका अन्य सबै खेलमा नतीजा निस्किएको छ । २३ पटक आमने सामने हुँदा बंगलादेशले १३ पटक जित्दा नेपालले आठ पटक जित निकालेको हो । बाँकीका दुई खेल नतीजा बिहीन हुँदै बराबरीमा सकिएको छ । साफकै कुरा गर्ने हो भने पनि योसहित आठ खेलमा बंगलादेश र नेपालले समान चार चार पटक जित हात पारेको छ । नेपालले जितेका चार खेल लगातारको पछिल्लो खेलमा आएको हो ।
आजको खेल सहित सन् २०११, २०१३ र २०१८ को साफमा महत्वपूर्ण खेलमा बंगलादेशलाइ पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । बंगलादेशसँग साफ च्याम्पियनसिपमा निकै रोचक प्रतिष्पर्धाहरु भएका छन् । जुन २०११ मा सागर थापाले खेल सकिन ३० सेकेण्ड अगाडी करिब ३० यार्ड टाढाबाट गरेको घुमाउरो फ्रि किक गोलले अहिले पनि बंगलादेशका फुटबल प्रशंसकलाई पीडादायक छ ।
आज नै हुने अर्काे खेल पनि रोमाञ्चक हुने निश्चित छ । उक्त खेल यसअघि साफको फाइनलमा भिडेका माल्दिभ्स र भारतबीच हुँदै छ । भारत २०१८ साफको फाइनलमा व्योहोरेको बदला लिने लक्ष्य साथ मैदान उत्रदा माल्दिभ्स भने जितको यात्रालाई निरन्तरता दिन चाहन्छ । आजको खेलसम्म आईपुग्दा चारै देशका फुटबल प्रशंसकहरु अन्योलमा छन् । यसैबीच फाइनलेको यात्रा कुन देशले तय गर्ने छ भन्ने थाहा पाउन आज हुने अन्तिम खेलसम्म हेर्नै पर्ने हुन्छ ।
राउण्ड रोबिनको आधारमा खेलाइएको भए पनि आजको खेललाई सेमीफाइनलको नाम दिँदा पनि फरक पर्ने थिएन सायद, किनभने यी दुवै खेलमा जसले जित्छ त्यसले नै फाइनलको यात्रा तय गर्ने स्थिति थियो । माल्दिभ्सका लागि भने जित बाहेक बराबरीको पनि विकल्प रहेको छ ।
प्रतिक्रिया