देश

तीन दिनपछि हट्यो मोतीपुरको कर्फ्यु


काठमाडौँ – प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएपछि रुपन्देहीको मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु आजबाट हटेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले स्थिति सामान्य भएपछि कर्फ्यु हटाइएको जानकारी दिनुभयो ।

आइतबार स्थानीय र प्रहरीबीच मोतीपुर क्षेत्रमा झडप भएको थियो । झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो । झडपमा प्रहरीसहित ८० जना घाइते भएका थिए । स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले आईतबार बेलुकादेखि नै कर्फ्यु जारी गरेको थियो । औद्योगिक क्षेत्रको अतिक्रमित जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार भएपछि बल प्रयोग गर्नु परेको प्रशासनले जनाएको छ ।