राजनीति

एनआरएनएको १०औं विश्व सम्मेलन र निर्वाचन स्थगित, परराष्ट्रसँग समन्वय गरी नयाँ मिति तय गर्ने


काठमाडौँ – गैरआवासीय नपाली संघ (एनआरएनए) ले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गरेको छ । संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो ।
प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटकसम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि स्थगित गरेको संघले जनाएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीले संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले आगामी ६ महिनाभित्र निर्वाचन गर्ने गरि विश्व सम्मेलन स्थगित गरेको बताउनुभयो ।
संघको विशेष परिस्थितिमा ६ महिना विश्व सम्मेलन सार्न सकिन प्रावधानअनुसार ६ महिनाभित्र निर्वाचन गर्नेगरी सम्मेलन सर्ने निर्णय भएको उहाँले बताउनुभयो । परराष्ट्र मन्त्रालयलगायतसँग समन्वय गरी नयाँ मिति तय गरिने बताइएको छ ।