समाचार

सावधान ! सामुन्द्रीक जहाजमा नेपालीको मृत्यु, विना कागजात यसरी फसाइन्छन् नेपाली (भिडियोसहित)


काठमाडौँ – अबैध रुपमा नेपाली युवाहरुलाई सामुन्द्रीक क्षेत्रहरुमा रोजगारीमा लैजाने र अन्तिममा मृत्युवरण गरेर फर्किनु पर्ने स्थिति बढ्दै गएको छ । पछिल्लो समयमात्रै सामुन्द्रीक क्षेत्रमा माछा मार्ने जहाजको सुरक्षाका लागि खटिएका दुई नेपालीको उपचारै नपाई मृत्यु भएको छ ।

गत फागुनमा ओमबहादुर निरौला सामुन्द्रीक पानी जहाजको सुरक्षागार्डको रुपमा काम गर्नका लागि चीन हुँदै सोमालिया पुगेका थिए । विना कुनै कागजात दललाको फन्दामा परेर पैसा कमाउने आशमा अफ्रिकन देशमा पुगेका थिए । तर दशैँको मुखमा उनी शव बनेर बाकसमा नेपाल फर्किएका छन् । ओमबहादुरको परिवार शोकले भावविहल छन् ।

अफ्रिकन देशमा रोजगारीका लागि नेपालीलाई बैधता छैन । तथापी झोले एजेन्टहरुले पैशाको लोभ देखाएर चाइनीज कम्पनीसंग भेट गराई नेपालीहरुलाई समुन्द्रहरुमा पठाउने गरेका छन् । माछा मार्ने ठूला ठूला जहाजहरुमा सुरक्षा गार्डका लागि एक लाख सम्मको तलबको प्रलोभन देखाएर पूर्व नेपाली सेना र नेपाल प्रहरीका व्यक्तिहरुलाई लैजाने तर श्रम सम्झौता, विमा देखि कुनै कागजात नदिने गरेको पाइएको छ । यसरी गएका नेपालीहरुको मृत्यु भएमा सकेसम्म शव नै नपठाउने गरेका छन् । ओमबहादुरको शब पनि निक्कै भनसुनका आधारमा नेपाल ल्याउन उनका परिवार सफल भएका हुन् ।

विरामी भएका ओमबहादुरको उपचार नै नगराएर कम्पनीले मृत्युको मुखमा पुर्याएको उनको परिवारको आशंका छ । ओमबहादुरको शब अहिले शिक्षण अस्पताल महाराजगञ्जमा छ । मृतकको पोष्टमार्टम गराउन परिवारजनले चाहेका छन् तर प्रहरी प्रशासनले भने विदेशबाट आएको शवको पोष्टमार्टन नगरिने भन्दै पन्छीरहेका छन् ।

यसरी नेपाली युवाहरुलाई अबैध रुपमा सामुन्द्रीक जहाजहरुमा काममा लगाउन पल्केका नेपाली एजेन्टहरु थुप्रै संख्यामा रहेको बुझीएकोछ । अहिले पनि यसरी त्यस्ता ठाउँहरुमा दर्जनौँ युवाहरु गइरहेको बुझीएको छ । कमजोर देश र प्रशासनको फाइदा लिएर चीनीयाँ कम्पनीहरुले नेपाली युवाहरुको लापरवाही रुपमा ज्यान लिइरहेका छन् । यसैगरी केही दिन अघि पनि एक नेपाली युवाको ज्यान गएको थियो । उनको शब त नेपाल ल्याउन समेत पाएन । यसरी नेपालबाट खुलेआम युवाहरुको बेचविखन हुँदा र मृत्यु हुँदा समेत राज्य प्रशासन एकले अर्कालार्य देखाउँदै गैरजिम्मेवार बनेर बसिरहेको छ ।