राजनीति

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य


काठमाडौँ – वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबारबाट सुरु हुने प्रदेशसभाको नवौं अधिवेशनमा विश्वासको मत लिँदै छिन् ।

यसअघि आज बस्ने प्रदेशसभाको नवौं अधिवेशनको संसद बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भनिएको थियो । तर, आज बस्ने संसद बैठकमा विश्वासको मतको प्रस्ताव मात्रै टेबुल गर्ने तयारी छ ।

अल्पमतमा परेकी मुख्यमन्त्रीले असोज २५ गते (भोलि) सम्ममा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता थियो । अल्पमतमा परेको ३० दिनभित्र संसदमा विश्वासको मतको प्रस्ताव टेबुल गर्नुपर्ने भएकोले आज बस्ने प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतको प्रस्ताव टेबुल गर्ने कार्यसूची रहेको छ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत भने दशैंपछि मात्रै लिने तयारी गरेको बुझिएको छ । एमालेको एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनमा १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि अल्पमतमा परेकी थिइन् ।