राजनीति

वागमतीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति भएको भनिए पनि नेपाली कांग्रेसले वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ ।

कांग्रेस वागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा दाबी गर्ने र अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले प्रमुख प्रतिपक्षी दल भएकोले नयाँ सरकारको नेतृत्वमा कांग्रेसको स्वभाविक दाबी रहने बताए ।

कांग्रेसको वागमती प्रदेशसभा दलका नेता ईन्द्र बानियाँ मुख्यमन्त्रीको दाबेदार हुन् । तर, संघीय सत्ता गठबन्धनभित्र वागमती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भइसकेको छ ।

सोही अनुसार समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई भावी मुख्यमन्त्रीको रूपमा हेरिएको छ । समाजवादीलाई प्रदेश १ मा पनि मुख्यमन्त्री दिने सहमति कांग्रेस र माओवादीले गरिसकेका छन् ।