राजनीति

आगामी पुस्ता श्रमजिवी वर्गको स्थानलाई मर्यादित बनाउन लाग्नुपर्छ : विष्णु रिमाल


काठमाडौँ – नेकपा एमालेका नेता विष्णु रिमालले आगामी पुस्ता श्रमजिवी वर्गको स्थानलाई मर्यादित बनाउन लाग्नुपर्ने बताउनुभएको छ । विहीबार मर्यादित कामको लागि विश्व दिवसको अवसरमा जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता रिमालले अघिल्लो पुस्ताले देशमा व्यवस्था परिवर्तनको लागि भुमिका खेलेको उल्लेख गर्दै आगामी पुस्ताले समाजमा श्रमजिवी वर्गको स्थानलाई मर्यादित बनाउन लाग्नुपर्ने बताउनुभएको हो ।

उहाँले श्रमजिवीको हक, अधिकार र मर्यादामाथि राज्यले तलमाथि गर्न खोजे त्यसका विरुद्ध एक भएर उठ्नुपर्ने बताउनुभयो । नेता रिमालले नेकपा एमाले श्रमजिवी वर्गको पक्षमा रहेको बताउनुभयो । विगतमा एमाले सरकारले श्रमिकको तलव वृद्धि गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी सिर्जना गर्ने, स्वास्थ्य बिमा गर्ने लगायतका महत्वपूर्ण काम गरेको उहाँले स्मरण गर्नुभयो ।