राजनीति

नेकपा एसलाई कांग्रेस र माओवादीले धोका दिए, मन्त्रालयको भागबन्डा नसच्याएसम्म सरकारमा नजाने चेतावनी


काठमाडौँ – नेकपा एकीकृत समाजवादीले कांग्रेस र माओवादीले धोका दिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयको भागबण्डामा अपमानित गरेको भन्दै माधव नेपाल नेतृत्वको समाजवादीले आपत्ति जनाएको हो ।

मन्त्रालयको संख्यामा चित्त नबुझेपछि नेकपा एकीकृत समाजवादी मन्त्रालय भागबन्डा नसच्याएसम्म सरकारमा नजाने चेतावनी दिएको छ। सत्ता गठबन्धनका नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, नेकपा माओवादी केन्द्रले ६ ओटा मन्त्रालय राखेर एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४र४ वटा मन्त्रालय पाउने बताएपछि समाजवादी आक्रोशित बनेको हो ।

सहमति अनुसार कांग्रेसले गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लिने छ । माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा–विज्ञान तथा प्रविधि, भूमि व्यवस्था–सहकारी तथा गरिबी निवारण, उद्योग–वाणिज्य तथा आपूर्ति र खानेपानी लिने छन् । एकीकृत समाजवादीले पर्यटन तथा नागरिक उड्डयन, कानुन–न्याय तथा संसदीय मामिला, श्रम रोजगार तथा सामाजिक सुरक्षा र सहरी विकास लिने छन् । जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालयले लिने छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री तथा जसपाले उपसभामुख लिने भएको छ ।

यसैबीच कांग्रेस र माओवादीले भने मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाइसकेका छन् । तर एकीकृत समाजवादीले मन्त्रालय भागबन्डाबारे सत्ता गठबन्धनमा फेरि छलफल हुनुपर्ने माग गरेको हो।