खेलकुद

श्रीलंकालाई जिति फाइनल पुग्ने नेपालको दाउ, ऐतिहासिक जितको नायक बने मनीष डाँगी (भिडियोसहित)


काठमाडौँ – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल श्रीलंकालाई पराजित गरेर फाईनल पुग्ने लक्ष्यमा हुनेछ । विश्वकप आउन एक वर्षभन्दा बढी समय बाँकी छ । तर, नेपाल र सम्भवत दक्षिण एसियाका पाँचै राष्ट्रमा भने अबको १५ दिन विश्वकप झै माहोल बनिसकेको छ । अर्थात् सार्क राष्ट्रका सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ सुरु भइसकेको छ ।

दक्षिण एसियामा साफ प्रतियोगिताले निकै ठूलो महत्व राख्ने गर्छ । अझ नेपालले त यसलाई सार्क राष्ट्रकै अरु राष्ट्रहरुको भन्दा पनि बढी महत्वले हेर्ने गरेको छ । कारण, नेपालले अहिलेसम्म यो प्रतियोगता जित्न सकेको छैन । साफमा नेपालको सबैभन्दा उत्कृष्ट प्रदर्शनको कुरा गर्ने हो भने तेस्रो स्थान हात पार्नु बाहेक अरु उपलब्धी देखिदैन । जुन साफको पहिलो संस्करण १९९३ मा पाकिस्तानको लाहोरमा भएको थियो । जसमा नेपाल, भारत, पाकिस्तान र श्रीलंका गरी जम्मा चार राष्ट्रले मात्र सहभागिता जनाएको थियो ।

साफ अघि नेपाललाई कुनै पनि राष्ट्रले कमजोर आँकलन गर्ने साहास गर्दैन । अझै भनौं साफको दावेदारी राष्ट्रको रुपमा नै हेरिन्छ । नेपालको प्रदर्शन पनि चुनौती पूर्ण नै हुन्छ । प्रदर्शन जति नै राम्रो भए पनि अन्तिममा गर्नु पर्ने र चाहिने भनेको गोल नै हो, जहाँ नेपाल सधैं गोल चुक्ने गर्छ । नेपालले प्रत्येक खेलमा मन त सबैको जित्छ, तर खेल भने सधैं झै विपक्षीलाई नै सुम्पिने गर्छ ।

त्यस्तै असोज १५ गते शुक्रबार देखि सुरु भएको १३ औं संस्करणको साफ माल्दिभ्सको राजधानी मालेमा सुरु भयो । पहिलो दिनको दोस्रो खेलमा नेपालले साविक विजेता तथा आयोजक राष्ट्र माल्दिभ्सलाई उसैको घरेलु मैदानमा हजारौं दर्शकका सामु स्तब्ध बनाउन सफल भयो । उक्त खेलको नायक सावित भए, २० वर्षीया खेलाडी मनिष डाँगी । यसअघि गोल गर्न चुक्दै आएको नेपालले उनकै गोलमा माल्दिभ्सलाई २२ वर्षपछि हराउन सफल भयो । ६९औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका डाँगीले खेल सकिन चार मिनेट बाँकी छँदा उत्कृष्ट फिनिसिङ गर्दै नेपाललाई जित दिलाए । विशाल राईले उपलब्ध गराएको पासमा मनिषले गोल गरेका हुन् । कोचले अब्दुल्लाह अल्मुताइरीले आफूलाई विश्वास गरेको र आफू त्यसमा खडा उत्रिको गोल गरिसकेपछि डाँगीको प्रतिक्रिया थियो ।

घरेलु मैदानमा माल्दिभ्सलाई हराएको नेपालले यस पटकको साफमा पनि उपाधि होडमा आफ्नो दावेदारी प्रस्तुत गरिसकेको छ । यो जितले विपक्षीलाई नेपालविरुद्ध खेल्दा मानसिक दवावमा पार्ने पक्का नै छ । तर, प्रशिक्षक अल्मुताईरीले विशेष गरि नेपाली फुटबल समर्थकलाई अहिले नै खुशीयालि नमनाउन आग्रह गरेका छन् ।

नेपालले आफ्नो दोस्रो खेल आज श्रीलंकाविरुद्ध खेल्दै छ । अघिल्लो दिन पत्रकारहरुसँग बोल्दै अब्दुल्लाहले पहिलो म्याच जिते पनि आफूहरुले माल्दिभ्सविरुद्धको खेल बिर्सिसकेको र श्रीलंकासँगको खेल नै पहिलो र फाइनल सोचेर खेल्ने बताएका छन् । श्रीलंकाको टिम आक्रमक भएको र आफूहरुले त्यसको फाइदा लिने उनको धारणा छ । नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने र ९० मिनेटसम्म नै फाइट गर्ने बताए ।

त्यस्तै नेपालले आफ्नो तेस्रो खेल भारतविरुद्ध असोज २४ मा खेल्ने छ । यो खेल पनि नेपाली समय अनुसार राति ९ः४५ बजेमा हुनेछ । नेपालले राउन–रोबिनको अन्तिम खेल असोज २७ गते बंगलादेशसँग खेल्नेछ । यो खेल भने नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे हुनेछ ।