देश

जलवायु परिवर्तनको चपेटामा नेपाल, कार्बन उत्सर्जनलाई कसरी कम गर्न सकिन्छ ? (भिडियोसहित)


काठमाडौँ – विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो सहरी विकास प्रवद्र्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न यो दिवस मनाउन सुरु गरिएको हो । त्यसोत कार्बन उत्सर्जनको नकारात्मक परिणामबाट पीडित भएको भन्दै यसबारे विश्व मञ्चहरुमा नेपालले आवाज उठाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमको आह्वानमा विश्व बसोबास दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट दिवस मनाउन सुरु गरेको हो । ‘तीव्र सहरी क्रियाकलापको लक्ष्य : कार्बनरहित विश्व’ नाराका साथ यस वर्षको विश्व बसोबास दिवस मनाइएको छ । कार्यक्रममा सरोवारवालाहरुले कार्बन उत्सर्जनमा नेपालको धेरै भुमिका नभएपनि त्यसको नकारात्मक परिणामबाट पीडित भएकाले यसबारे विश्वमञ्चहरुमा नेपालले आवाज उठाउनुपर्नेमा जोड दिएका छन् । संसारका विकसित देशको तुलनामा नेपालले कम कार्बन उत्सर्जन गरेपनि नेपाल यसबाट हुने जलवायु परिवर्तनको चपेटामा परेको उनीहरुले औल्याएका छन् । नेपालमा पनि कार्बन उत्र्सजन न्यूनीकरण गर्न ध्यान दिनुपर्ने र छिमेकी मुलुक चीन र भारत संसारकै बढी कार्बन उत्सर्जन गर्ने मुलुकमा पर्ने भन्दै यी मुलुकसँग वार्ता गर्दा जलवायु परिवर्तनको एजेण्डा बनाउनुपर्नेमा उनीहरुको जोड रहेको छ ।

जलवायु परिवर्तनका कारणले घटेका विभिन्न विपतका घटनाहरुबाट पाठ सिक्दै आगामी दिनमा योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने पनि उनीहरुले बताए । फोहोरमैला व्यवस्थापन, इन्धनको प्रयोगलाई घटाउने, सवारी साधनको प्रयोग घटाउने र भवन निर्माणको प्रक्रियालाई व्यवस्थित बनाउन सके कार्बन उत्र्सजन घट्ने कार्यक्रममा सहभागि सरोकारवालाहरुले जोड दिएका छन् । यस्तै राष्ट्रिय योजना आयोगको संघ, प्रदेश र स्थानीय तहको समन्वयमा छरिएर रहेको बजेटलाई एकै ठाउँ केन्द्रीकृत गरी व्यवस्थित शहर बनाउनुपर्नेमा जोड दिएको छ । घरबाट निस्कने फोहोरमैलालाई उचित व्यवस्थापन गरे कार्बन उत्सर्जनलाई कम गर्न सकिने उनीहरुले सुझाएका छन् ।

यस्तै युएन ह्याबिट्याटका प्रतिनिधिले भने विकास साझेदार संस्थाहरुले आगामी दिनमा हरित पुर्नउत्थानलाई प्राथमिकता दिएर कार्यक्रमहरु निर्धारण गर्ने बताए । नेपालमा हुने विकासका कार्यक्रमहरुले वातावरणमा हुने प्रभावलाई न्यूनिकरण गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएकोे थियो ।