राजनीति

गैरकानुनी धन लुकाउने विश्वका नेता तथा धनाढ्यको सूचीमा नेपाली पनि


काठमाडौँ – विश्वका नेता, राजनीतिज्ञ तथा धनाढ्यहरुले करछलीका लागि ठूलो सम्पत्ती ‘ट्याक्स हेभन’ मुलुकमा गोप्य तवरले नाममात्रका कम्पनी स्थापना गरेर लगानी तथा शेयर खरिद–बिक्री गरेको खुलासा भएको छ । गैरकानुनी रुपमा आर्जन गरेको रकम लुकाउन उनीहरुले करछलीका लागि सहज मानिने ट्याक्स हेभन मुलुकमा नाम मात्रको कम्पनी खोलेर लगानी गरेको खुलासा भएको प्यान्डोरा पेपर्समा उल्लेख छ ।

अमेरिकाको वासिङटन डिसीमा रहेको अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संयन्त्र, इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टसहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा प्यान्डोरा पेपर्स सार्वजनिक भएको हो । पछिल्लोपटक सार्वजनिक भएको वित्त गतिविधि सम्बन्धी गोप्य कागजातहरुलाई प्यान्डोरा पेपर्स नाम दिइएको छ ।

प्यान्डोरा पेपर्सको अध्ययनमा नेपालबाट सामेल भएको खोज पत्रकारिता केन्द्रका अनुसार गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद–बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको छ ।