राजनीति

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकियो, व्यक्ति नभई पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड


काठमाडौँ – शुक्रबारबाट जारी रहेको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा समूहगत छलफल सकिएको छ । आज बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठानिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो ।

सात प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसंगठन तथा केन्द्रीय निकाय र आयोगले आ–आफ्नो समूहमा छलफल गरेका थिए । छलफलपछि टोली नेताले सुझाव प्रस्तुत गरेका छन् । छलफलमा व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

भोलि राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठानिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने बताइएको छ ।