राजनीति

एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनसहितका प्रस्तावमाथि समूहगत छलफल


काठमाडौँ – एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनसहितका प्रस्तावमाथि समूहगत छलफल भइरहेको छ । राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल जारी रहेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको छ । तीनवटै प्रस्तावमाथि समूह बनाएर छलफल हुने भएको छ । आज समूहगत छलफल र भोलि प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफसहित महाधिवेशन समापन हुनेछ । छलफलका लागि विभिन्न १० समूह बनाइएको छ ।

समूहगत छलफलको सहजीकरणका लागि २० नेतालाई जिम्मेवारी तोकिएको छ । एमालेको नेतृत्व चयनका लागि राष्ट्रिय महाधिवेशन भने आगामी मंसिर दोस्रो साता हुने छ । एमालेले अध्यक्षलाई थप अधिकार दिने गरी विधानमा व्यवस्था गर्ने भएको छ ।