समाचार

बुद्ध एयर प्रकरण : बुद्ध एयरको जहाजमा देखिएको समस्या स्वभाविक हो त ? (भिडियोसहित)


काठमाडौँ – नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ । आज सिंहदरवारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरुको बारेमा चासो राखेको हो ।

यसैसाता बुद्ध एयरमा देखिएको प्राविधिक समस्यापछि नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले नेपालको उडान सुरक्षाबारे छलफल गरेको छ । छलफलका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही दिनअघि बुद्ध एयरमा देखिएको समस्या त्रुटिवश भएको बताएको छ । सो घटनाबारे अहिले विभागिय मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा अनुसन्धान चलिरहेको छ । अनुसन्धानका क्रममै सहसचिव लामिछानेले विमान मिसिनबाट चल्ने भएकोले कहिलेकाहीँ यस्ता समस्याहरु देखिनु स्वभाविक भएको तर्क गर्छन् ।

छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो क्षेत्रबाट कतै पनि कमजोरी नगरेको भन्दै चोखिने प्रयास गरेको छ । तैपनि नागरिक उड्ययन प्राधिकरणलाई हीत हुने गरेर राम्रो सुझाव आए सहर्ष स्वीकार गर्ने उसको तर्क रहेको छ ।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका सहयोगी राजु श्रेष्ठले बुद्ध एयरको बारेमा अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने बताए । उनले जहाज किन्ने बेलामा हरेक जहाजको पार्टपूर्जा, ल्याण्डिङको आयु तोकेको हुने भन्दै त्यसै आधारमा रहेर छानबिन टोलीले अनुसन्धान गरिरहेको बताए ।

यति एयरलाइन्स प्रा.लि.का अप्रेसन्स म्यानेजर गोविन्द पौड्यालले हरेक विमान उड्नु भन्दाअघि इन्जिनियरहरुले चेक गरेपछि मात्रै उड्ने भएकोले हालै भएको बुद्ध एयरको घटना अपवादमा भएको बताए । कहिलेकाहीँ यस किसिमका घटनाहरु सबै परीक्षण गरिसकेपछि पनि हुने पनि बताए ।

छलफलका क्रममा सरोकारहरुले बुद्ध एयरमा कहिलेकाहीँ समस्या देखिनुलाई ठूलो समस्या भन्न नमिल्ने तर्क गरेका थिए । यस्तै उनीहरुले १५ वर्षको इतिहासमा पहिलोपटक पाङ्ग्रा ननिस्किने समस्या आएको भन्दै यसै समस्यालाई लिएर दण्ड दिन नमिल्ने र नियमन गर्ने निकायले तोकेको भन्दा धेरै उडान भरेमा समस्या आइरहने औल्याएका थिए । यद्यपी बुद्ध एयरको विमान देखिएको समस्याको निक्र्याेल नभइसकेको र अनुसन्धान जारी छ ।