काठमाडौँ – ह्यारी केनले २० मिनेटको अन्तरमा ह्याट्रिक पुरा गरेपछि टोटेनहम हटस्परले युरोपा कन्फ्रेन्स लिगमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा टोटेनहमले स्लाभेनियाको एनएस मुरामाथि ५–१ को फराकिलो जित निकालेको हो ।
डेल अली र जियोभानी लो सेल्सोले समान एक गोल गरे । मुराका जिगा कोअसले एक गोल फर्काए । टोटेनहम हटस्पर स्टेडियममा गए राति भएको खेलको चौथो मिनेटमा नै डेल अलीको पेनाल्टी गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । आठौं मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे ।
खेलको ५३औं मिनेटमा जिगा कोअसले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । त्यसपछि टोटेनहमका सब्सिच्युट खेलाडी केनसँगै लुकास मोउरा र ह्युङ मिन सन नायक बने । ५९औं मिनेटमा मैदान छिरेका ह्यारी केनले सोही समयमा मैदान छिरेका लुकास मोउराको पासमा ६८औं मिनेटमा गोल गर्दै टोटेनहमलाई ३–१ ले अघि बढाए । ७६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै टोटेनहमलाई ४–१ को फराकिलो अग्रता दिलाए । ८७औं मिनेटमा केनले लो सेल्सोको पासमा ह्याट्रिक पुरा गरेपछि टोटेनहमले फराकिलो जित निकाल्न सफल भयो । यो जितसँगै टोटेनहम समूह ‘जी’ मा दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ ।
प्रतिक्रिया