समाचार

बुद्ध एयर प्रकरण : मानसिक चाप कम गर्न चालक दलका सदस्यलाई केही समय ग्राउण्डेड


काठमाडौँ – प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराउने बुद्ध एयरका चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ । जहाजका क्याप्टेन आङगेलु  शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ ।

बुद्ध एयरका अधिकारीहरुका अनुसार असामान्य परिस्थिति आएका कारण चालक दलमा पर्न सक्ने मानसिक चापलाई ध्यानमा राखी नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा हेर्ने विभागले चालक दलका सदस्यहरुलाई उडानमा रोक लगाएको हो । चालकसहित अन्य सदस्यले प्राधिकरणको सामान्य प्रशिक्षण समेत लिनुपर्नेछ । जहाँ उनीहरुलाई ‘रिफ्रेस’ गराइन्छ ।

प्राधिकरणका अनुसार ‘इन्सिडेन्ट (दुर्घटना नभएको अवस्था) मा चालक र उनको टीममा पर्न सक्ने मानसिक चाप कम गर्न केही समय ग्राउण्डेड गर्ने प्रचलन रहेको छ । बुद्ध एयरका अधिकारीहरुका अनुसार अब प्राधिकरणले बुद्ध र प्राधिकरणकै टीमले दिने प्रतिवेदन अध्ययन गरेर उनीहरुको लाइसेन्स फुकुवा गर्नेछ । यो काम एक/दुई दिनमै हुने बताए ।