राजनीति

सर्वदलीय बैठक सुरु, एमाले र राप्रपाले गरे बहिष्कार


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपाले बहिस्कार गरेका छन् । प्रधानमन्त्रीले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाए पनि एमाले र राप्रपाले बहिस्कार गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, र नेमकिपाका नेताहरू सहभागी भए पनि एमाले र राप्रपाका नेताहरू सहभागी भएनन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरामी भएकाले उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल सहभागी हुनुभएको छ । नेकपिकाका सांसद प्रेम सुवास बैठकमा सहभागी हुनुभएको छ । सरकारले असंवैधानिक ढंगले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको र एकीकृत समाजवादी सहभागी हुने बैठकमा उपस्थित नभएको एमालेले जनाएको छ ।

एमालेले संघीय संसद्को दुबै सदनको चालु अधिवेशनमा अवरोध गर्दै आएको छ । एमालेले सभामुखको भूमिकाको विषयमा प्रश्न उठाएको छ । यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो ।