राजनीति

अफगान सरकार ढल्नुको मुख्य कारक ‘अमेरिका–तालिबान’ सम्झौता भएको अमेरिकी सुरक्षा अधिकारीको दाबी


काठमाडौँ – अमेरिकी सुरक्षा अधिकारीहरुले तालिबानसँग अमेरिकाले गरेको सम्झौता अफगान सरकार तीव्र गतिमा कोल्याप्स हुनुको कारक रहेको दाबी गरेका छन् । अमेरिकाको माथिल्लो सदन सिनेटको सशस्त्र सेवा समितिमा भइरहेको सुनुवाइको क्रममा सुरक्षा अधिकारीहरुले तालिबानले अफगानिस्तान तीव्र गतिमा कब्जा गर्नुको पछाडि अमेरिकाले सन् २०२० मा तालिबानसँग गरेको सम्झौता कारक रहेको बताएका हुन् ।

सन् २०२० को फेब्रुअरीमा कतारको दोहामा भएको सम्झौताले अमेरिकी सैनिक फिर्ताको मिति तय गरेको थियो । अमेरिकी सैनिक जनरल फ्रयांक म्याकेन्जीका अनुसार अफगान सरकार र सैनिकमा सो सम्झौताको हानिकारक प्रभाव परेको बताएका छन् । रक्षामन्त्री लोयड अस्टिनले पनि जनरल म्याकेन्जीको भनाइमा सहमति जनाएका थिए । रक्षामन्त्री अस्टिनले सम्झौताले तालिबानलाई थप बलियो हुन सहयोग गरेको बताए ।
डोनाल्ड ट्रम्पको पालामा भएको सहमति नवनिर्वाचित राष्ट्रपति बाइडेनले पनि निरन्तरता दिएका थिए । अमेरिकी सैनिक फिर्ताको क्रम जारी रहँदा तीव्र गतिमा पडक बिस्तार गरेको तालिबानले अगस्ट १५ मा काबुल कब्जा गरेको थियो । अहिले अफगानिस्तानमा तालिबानको सरकार रहेको छ ।