खेलकुद

मेसीको गोलसँगै पीएसजीको जित, सिटी २–० ले पराजित


काठमाडौँ – च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा पीएसजीले सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा इद्रिसा गुईए र लियोनल मेसीले एक–एक गोल गरे । घरेलु मैदानमा इद्रिसाले आठौं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा केलियन एमबाप्पेको पासमा मेसीले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए । यस गोलसँगै मेसी पीएसजीका लागि पहिलो गोल गर्न सफल भएका छन् ।

मेसी यसै सिजन बार्सिलोनाबाट पीएसजी आएका हुन् । जितसँगै समूह ए को पीएसजीले २ खेलमा ४ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । सिटी ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।