राजनीति

१० बूँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्छौ : भीम रावल



काठमाडौँ – नेकपा एमालेले पार्टीको एकतालाई सुदृढ बनाउने गरी १० बूँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।

आन्तरिक एकता कायम गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको मंगलबार पार्टी केन्द्रिय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी सो समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो ।

बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद पनि समाधान गर्ने विषयमा विभिन्न उपायहरुको बारेमा छलफल सुरु गरेको कार्य दलका संयोजक भीम रावलले जानकारी दिनु भयो ।

संयोजक रावल र नेता लेखराज भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्जार्चको विषयलाई लिएर विवाद छ । संयोजक रावलले सो विवाद पनि १० बूँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गर्नु भयो ।

तर भट्टले भने पार्टीको सुदूरपश्चिम प्रदेशको इन्जार्च आफू नै रहेको दावी गर्नुभएको छ ।