राजनीति

परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीबीच भेटवार्ता


काठमाडौँ – नेपालका नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्का र भारतका विदेशमन्त्री डा.एस जयशंकरबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन न्युयोर्क पुगेका दुवै राष्ट्रका मन्त्रीहरुबीच त्यसैक्रममा भेटवार्ता भएको हो ।

संयुक्त राष्ट्रसंघका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले विज्ञप्ति जारी गर्दै उनीहरुको भेटवार्ता भएको जानकारी दिएको हो । सो अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुईपक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको छ । “दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ ले नेपाल र भारतका जनताको जीवन र आजिविकामा निम्त्याएको चुनौतीको मिलेर सामना गर्न सहमति जनाउनुभयो,” नियोगले सोमबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । मन्त्री डा.खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरेको विज्ञप्तिमा जनाइएको छ ।

महासभालाई स्थानीय समयानुसार सोमबार अपराह्न सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री डा.खड्का नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार स्वदेश फर्कने छ।