राजनीति

३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि


काठमाडौँ – मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदैछ । जिल्ला अदालत मोरङमा अन्तिम बहस हुने भएको हो । तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्करको समूहको यातनाका क्रममा २०७४ साल फागुन १८ गते शाक्यको मृत्यु भएको थियो ।

हत्या अनुसन्धानका क्रममा सुन तस्करीको ¥याकेट पत्ता लागेको थियो । करिब चार वर्षअघि दर्ता भएको शाक्य हत्या तथा सुन तस्करीसँग सम्बन्धित मुद्दाको अन्तिम बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने छ । आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान गरेर चारवटा शीर्षकमा २०७५ वैशाख १९ गते उच्च पदस्थ प्रहरीसहित ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

दुईपटक पुरक अभियोग मार्फत ७७ जनालाई प्रतिवादी बनाइएको छ । सुन तस्करी मुद्दाका ७७ प्रतिवादीमध्ये २२ जना अझै फरार छन् । प्रहरीले पक्राउ गरेका र अदालतमा आफैं हाजिर भएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका थिए ।