राजनीति

देउवाले तोडे परम्परादेखिको शिलशिला, भारत छोडि स्कटल्याण्डको विदेश यात्रा


काठमाडौँ – नेपालमा प्रधानमन्त्री नियुक्त भए लगत्तै छिमेकी मुलुक भारतबाटै विदेश भ्रमणको सुरुवात गर्ने पुरानो परम्परा छ । प्रधानमन्त्री हुन साथ नयाँदिल्ली पुग्नैपर्ने विगतको परम्परालाई देउवाले तोड्ने भएका छन् । प्रधानमन्त्री देउवाले आफ्नो पहिलो विदेश भ्रमण स्कटल्याण्डबाट सुरु गर्ने भएको छ ।

प्रधानमन्त्री नियुक्त भएको साढे दुई महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पहिलो विदेश भ्रमण भने आफै तय गरेका छन । मन्त्रीपरिषदबाट निर्णय हुन बाँकी नै छ यद्यपि प्रधानमन्त्री देउवाले आफ्नो पहिलो विदेश भ्रमण स्कटल्याण्डबाट सुरु गर्ने भएका छन् । देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा सहभागी हुन नोभेम्बरमा स्कटल्याण्ड जाने भएका हुन् । सामान्यतयाः नेपालका हरेक प्रधानमन्त्रीले छिमेकी मुलुक भारतबाट विदेश भ्रमणको सुरुवात गर्ने चलन पुरानो हो ।

अन्य मुलुकबाट विदेश भ्रमण सुरु गर्दा विशेषगरी भारत असन्तुष्ट मात्र होइन सरकारको आयुमै गम्भीर असर पर्ने डरका कारण विगतदेखि नै अधिकांश प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमण भारतबाट नै सुरु गर्दै आएका थिए । प्रधानमन्त्री हुन वित्तिकै भारत भ्रमणका लागि औपचारिक निम्तो दिने पुरानो चलनलाई भारतले पनि वास्त गर्न छाडेका छन । २९ असारमा नै प्रधानमन्त्री भएका देउवालाई भारतले अहिलेसम्म कुनै औपचारिक निमन्त्रणा दिएको छैन । नेपाल भारतबीचको चिसिदो कुटनीतिक सम्बन्ध र संवादहिनता परिणाम भएको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन ।

लामो राजनीतिक संक्रमणकाल पछि बनेको स्थायी सरकार दल र दलका नेताहरुको राजनीतिक स्वार्थका टिक्न सकेन । मुलुक पुन राजनीतिक संक्रमणको सिकार बन्न पुग्यो । अन्तरिक राजनीति संक्रमणको प्रत्यक्ष प्रभाव मुलुकको परराष्ट्र मामिलामा पनि परेको छ । भू–राजनीतिक दृष्टिले संवेदनशील नेपाल परराष्ट्र मामिला र छिमेकी मुलुकहरुसँग सम्बन्ध र अन्तराष्ट्रिय कुटनीतिमा पूर्ण असफल हुँदै गएको धेरैको तर्क छ ।

सार्वभौम मुलुकले आफ्नो विदेश भ्रमण जहाँबाट सुरु गरे पनि मुलुकको अधिकारको विषय हो भने सबै मुलुकसँग सुमधुर सम्बन्ध कायम गर्नु कुटनीतिक क्षमता हो । आन्तरिक राजनीतिक परिस्थिती जस्तो भए पनि मुलुकको अन्तराष्ट्रिय मामिला संधै फराकिलो र सुदृढ हुनु आवश्यक छ । तर परिस्थितीले मुलुकको ४३ औ प्रधानमन्त्रीका रुपमा सत्ताको वागडोर सम्हाली रहेका देउवा सरकारको ध्यान यसतर्फ पुगेकै छैन । पार्टीगत र आन्तरिक राजनीतिक किचलोका कारण छिमेकी मुलुक र अन्तराष्ट्रिय मुलुकसँगको सम्बन्ध सुधारमा चासो शुन्य छ । नेपालको भौगोलिक अवस्थिती र भू–राजनीतिक पेरीफेरीलाई मध्यनजर गर्दै कुटनीतिक प्रभावकारीता बढाउनतर्फ समयमा नै सबैको ध्यानकर्षण हुन जरुरी छ ।