राजनीति

जबजलाई आत्मसात गर्न चाहेको एकीकृत समाजवादीका अध्यक्ष नेपालको घोषणा


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताउनु भएको छ । अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

पार्टी निकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरुको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढने पनि बताउनु भयो । अध्यक्ष नेपालले माओ, होचि मिन्हजस्ता नेताहरुले विश्व कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी दिने कामलाई जोड दिने बताउनु भयो । अध्यक्ष नेपालले पार्टीका युवाहरुले कृषि फार्म, माछा पालन, तरकारी खेती, फलफूल खेतीलगायतका उत्पादनशील क्षेत्रको काममा लाग्नुपर्नेमा पनि जोड दिनु भयो ।