समाचार

राजनीतिक खिचातानीले सरकारी विद्यालयको हरिविजोग, प्रावि तहका शिक्षक माविका प्रअ


काठमाडौँ – राजनीतिक खिचातानीका कारण सर्लाहीको पश्चिम क्षेत्रको नेपाल–भारत सिमावर्ती गाउँ मधुवनीको बैधनाथ माद्यामिक विधालयको शैक्षिक अवस्था नाजुक बन्दै गएको छ ।

विद्यालयमा शिक्षकहरुको संख्यो निकै कम रहेको छ भने विद्यालयको भौतिक अवस्था जर्जर रहेको छ । जसका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति पनि कम हुँदै गइरहेको छ ।

सर्लाहीको नेपाल–भारत सिमावर्ती गाउँ गोडैता नगरपालिका वडा नं–१२ मधुवनीमा रहेको बैधनाथ माद्यामिक विधालयका वि.स २००७ सालमा स्थापना भएको थियो । विद्यालयमा नामांकन गराएका विद्यार्थीहरुको संख्या साढे ८ सयभन्दा बढी भएपनि विद्यार्थी संख्याको तुलनामा शिक्षकको संख्या धेरै नै कम रहेको छ ।

निम्न माद्यामिक तहका २ र प्राथमिक तहका ५ जना शिक्षकहरुको भरमा संचालन भइरहेको यस विद्यालयमा मावि तहसम्म अध्यन अध्यापन हुने गरेको छ । विद्यालयमा नगरपालिकाले प्राथमिक तहको शिक्षकलाई प्रअको नियुक्ति दिएको छ । तीनवटा पुरानो र एउटा निर्माणाधीन भवन रहेको यस विद्यालयको कक्षाकोठाहरु जिर्ण अवस्थाका छन् ।

अधिकांश कक्षाकोठाको छाना समेत छैन । बस्नको लागि पर्याप्त डेक्स बेन्च छैनन् । ठाउँको अभावका कारण एउटै कोठामा २ वटा कक्षाका विद्यार्थीहरु भेडाबाख्रा जस्तै खाँदिएर बस्नु परेको विद्यार्थीहरुले गुनासो गरे ।
अधिकांश कक्षा कोठाका छानाहरु हावाहुरीले उडाइसकेका छन् । कक्षाकोठा र डेक्स बेन्चको कमिका कारण विद्यार्थीहरुलाई भुँइमा बसेर पढ्नुपर्ने बाध्यता छ ।

यस विद्यालयको भौतिक पूर्वधार र शिक्षकको अभावका कारण शैक्षिक अवस्था खस्किदै गएको स्थानीय अभिवाकहरुको गुनासो छ । विद्यालयको पूर्वधार र विकासका लागि बजेट निकासा हुँदै आएपनि जिर्ण भइसकेको भवन बनाउने तर्फ कसैको ध्यान गएको देखिंदैन । स्थानीय सरकारलाई शिक्षाको जिम्मेवारी दिएसँगै शिक्षाको अवस्था झन खस्किदै गएको अभिभावकको भनाइ छ ।

विद्यालयमा कक्षाकोठा र डेक्स बेन्चका साथै खानेपानी र शौचालयको समेत कमि रहेको विद्यार्थीहरु बताउँछन् । भएका शौचालय पनि फोहर र भत्किएका छन् । वडा न–१२ मधुवनीका वडाध्यक्ष शम्भुनारायण प्रसाद कुशवाहा विद्यालयमा दरबन्दी अनुसार शिक्षकको कमि रहेको स्विकार्छन् ।

पटकपटक नगर प्रमुखलाई शिक्षक पठाइदिन भन्दै आएको तर उहाँले दरबन्दी नरहेको बताएको वडाध्यक्ष कुशवाहाले बताए ।
विद्यालयको कम्पाउण्ड बाल नभएकाले गाउँका केही ब्यक्तिहरु गएर चौर तथा कक्षा कोठामा गएर दिसापिसाब गरेर फोहर गरिदिने गरेको प्रधानाध्यापक केशव शर्माले बताए ।

वैधनाथ माविको अवस्थाको बारेमा स्थलगत रिपोर्टिङका लागि पुगेको योहो टेलिभिजनकर्मीसँग विद्यालयको अवस्थाको बारेमा जानकारी गराउँदै यसको सुधारका लागि पहल गरिन र आफुहरुको आवाज सरोकारवाला निकाय समक्ष पुर्याइदिन आग्रह गर्दै केहीबेर उक्त विद्यालयमा अध्यनरत सयौं विद्यार्थी तथा स्थानीय अभिभावक लगायतले स्थानीय जनप्रतिनिधिहरुको विरुद्धमा चर्को नाराबाजी गरेका थिए । ग्रामीण भेगका ७० प्रतिशत विद्यालयहरुको अवस्था वैधनाथ माविको जस्तै रहेको छ ।