राजनीति

ओलीको जोकको पात्र बन्यो सत्ता गठबन्धन : माधव र उपेन्द्रको टकराव चुलियो, देउवा–प्रचण्डको झनै स्वार्थ


काठमाडौँ – सत्ता गठबन्धनकै दलहरुबीचटकराव चुलिएपछि मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन सकेको छैन । शक्तिशाली मन्त्रालयको भागबण्डा र दल विभाजनसम्बन्धी अध्यादेशले गठबन्धनलाई थप अन्योलमा पारेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबारमात्रै एक सार्वजनिक मञ्चबाट भनेका थिए, ५ गते भित्रै सरकार विस्तारले पूर्णता पाउँछ । तर पाँच गते वित्यो मन्त्रीपरिषद् विस्तार हुन सकेन । असार २९ मा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएयता सत्ता गठबन्धनका दलहरुले पटकपटक भाका तोक्दै र फेर्दै आएका छन् ।कुनै पनि दल वा नेताको भाकाले सार्थकतापाएको छैन ।

बरु यहीँ कारण सरकार सञ्चालकसंगको विश्वास र भरोशा मर्दै गएको छ भने सरकारका काम लथालिङग बनिरहेका छन् ।मन्त्रिपरिषद विस्तार गर्न नसकेको विषयमा प्रधानमन्त्री र सत्तारुढ गठबन्धनको लगातार आलोचना भइरहेको छ । जसलाई मुद्दा बनाएर विपक्षीले समेत लगातार प्रश्न उठाइरहेकाछन् ।

मन्त्रीमण्डल भागबण्डा र राजनीतिक दलसम्बन्धी अध्यादेशले गठबन्धनका दलहरुबीचको कचिङगल बढ्दै गएपछि टकराव झन चुलिएको छ । एमालेबाट विभाजित माधवकुमार नेपालको दल नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टी अध्यादेशबारे निर्णय नभएसम्म सरकार गठन गर्न नहुने पक्षमा छन् ।

माधवकुमार नेपालले अध्यादेश खारेज वा निष्क्रिय गराउँदा आफ्नो दलविरुद्ध अदालतमा परेको मुद्दा प्रभावित बन्न सक्ने भन्दै संसद्बाट यथास्थितिमा पारित गर्नै पर्ने जोड दिएका छन् । तर जसपाका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश पारित हुँदा आफ्नो पार्टी फुट्न सक्ने जोखिम रहेकाले राजनीतिक दलको घाँटीमा तरबार राखेर मन्त्रिपरिषद् विस्तार नहुने भन्दै तत्काल निष्क्रिय बनाउनुपर्ने अडान लिइरहेकाछन् । किनकि २१ सांसद रहेको जसपामा ५ सांसदले चाहेपार्टी फुट्न सक्नेछ । तर काँग्रेस र माओवादीलेठूला दलको हैसियतमा धेरै मन्त्रालय आफैसंग राख्नुपर्ने पक्षमा उभिदा थप समस्या देखिएको छ ।

गठबन्धनलाई आफैले ल्याएको अध्यादेश एकातिर गलपासो बनेको छ भने, भागबण्डाको विषय थप जटिल देखिन्छ ।चार दलबीच शक्तिशाली र आर्थिक रुपमा मालदार मन्त्रालय तानातान गर्ने प्रतिस्पर्धा छ ।त्यसबाहेक सबै दलले उपप्रधानमन्त्रीसहित सरकारमा जान खोजिरहेका छन् । देउवा भने धेरै उपप्रधानमन्त्री नबनाउने पक्षमा छन् । महाधिवेशनको तयारीमा रहेका देउवाले बरु आफ्नै पार्टीको संस्थापनइतर पक्षलाई उपप्रधानमन्त्री दिएर खुशी बनाउन चाहन्छन् ।
सरकारविस्तारसहितका हरेकमुद्दामा गठबन्धनका दलहरुबीच मतभिन्नता देखिदै गएको छ ।अझ भागबण्डामा शक्तिशाली मन्त्रालय पाए निकटमै रहेको निर्वाचनसम्मलाई प्रभाव पार्न सकिने लोभ गठबन्धनका दलहरुमा देखिन्छ ।