राजनीति

वर्तमान सरकारले युवापुस्तामा राजनीतिप्रति निराशा र वितृष्णा फैलायो : केपी ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजिवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । मंगलबार मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक श्वेत शार्दुल सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको बताउनुभएको हो । उहाँले न्यायाधिश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताउनुभयो ।

अध्यक्ष ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रीपरिषद् बिस्तारमा ढिलाई भएको टिप्पणी गर्नुभयो । सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उहाँको आरोप छ ।

कार्यक्रममा अध्यक्ष ओलीले मदन भण्डारीको जीवनी समेटिएको पुस्तकले मदन भण्डारीको बहुआयामिक व्यक्तित्वको बारेमा समेटेको धारणा व्यक्त गर्नुभयो । उहाँले भण्डारीले नेपाली राजनीतिमा पु¥याएको योगदानको चर्चा समेत गर्नुभएको थियो ।