देश

बुटवल उपमहानगरपालिकाद्वारा मेयरमाथि हातपात गर्नेलाई कारबाही गर्न माग


काठमाडौँ – बुटवल उपमहानगरपालिकाले नगर प्रमुख शिवराज सुवेदीमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ । सोमबार विहान वर्षापछि भूस्खलन भइ बस्ती जोखिममा परेको थाहा पाएपछि मेयर सुवेदीसहितको टोली ज्योतिनगर पुगेको थियो । त्यस क्रममा स्थानीय गणेश पंगेनीले मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए ।

बुटवल उपमहानगरपालिकाले नगर प्रमुखमाथि भएको उक्त घटनामा संलग्न र उनलाई उक्साउने उपर छानबिन गरी यथाशीघ्र कारवाही गर्न माग गरेको छ । प्रवक्ता रामप्रसाद रेग्मीले जारी गरेको विज्ञप्तिमा सोमबार विहान देखि परेको मुसलधारे वर्षाका कारण थप भूस्खलन भई क्षतिको खबर प्राप्त भएपछि मेयर सुवेदी, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलगायतका प्राविधिक टोलीसहित पहिरो स्थलमा निरीक्षण, राहत, उद्दार र व्यवस्थापनका लागि पुगेको उल्लेख गरिएको छ ।

त्यही बेला अराजक व्यक्तिहरुले नियोजित रुपमा सुरक्षा निकायको उपस्थितिमा प्रमुखमाथि आक्रमणको प्रयास हुनु दुखद, निन्दनीय र खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ ।