देश

लाइसेन्सका लागि नयाँ आवेदन दशैंपछि मात्र


काठमाडौँ – कोभिड–१९ कारण बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलको नयाँ आवेदन दशैँपछि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भूसालका अनुसार तत्काल नै नयाँ आवेदन खुलाउँदा परीक्षार्थीले झण्डै १० महिना कुर्नुपर्ने भएकोले दशैंपछि खुलाउने तयारी भई रहेको छ । यसअघि ट्रायलको प्रतिक्षामा रहेकाहरूले गत भदौ २० गतेबाट परीक्षा दिइरहेका छन् । परीक्षार्थीको संख्या घट्दै जाने र नयाँ आवेदन दिनेहरूले छिट्टै पालो पाउने हुँदा दशैँपछि मात्र आवेदन खुलाइने उनको भनाइ छ ।

यसअघि पहिलो चरणको लकडाउनका कारण २०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी ७७ पुस १४ गतेबाट खुलाएका थियो । यससँगै करिब ४ महिनापछि कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो ।

पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख परीक्षार्थी ट्रायलको प्रतिक्षामा छन् । ६ लाख परीक्षार्थीले ट्रायल दिन कम्तीमा ५ देखि ६ महिना लाग्ने विभागको अनुमान छ ।