राजनीति

किन गरे त विभूषण बहिष्कार ?


काठमाडौँ – सरकारले २०७८ को संविधान दिवसको अवसर पारेर ९०३ जनालाई राष्ट्रिय विभूषण प्रदान गर्ने निर्णय गरेको छ । तर, ती मध्ये केहीले भने उक्त विभूषण नलिई बहिष्कार गरेको छ ।


बहिष्कार गर्नुको कारण भने कोहीले आफूले संविधानलाई नै नमानेको बताएका छन् भने कोहीले भने पदक वितरण दलीय प्रभावमा परेकाबाट मुक्त हुन नसकेकाले बहिष्कार गरेका प्रतिक्रिया दिएका छन् । पूर्वमन्त्री पीएल सिंह र कार्टुनिस्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गरेका हुन् । सरकारले सिंहलाई ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’ र सायमीलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो ।

वर्तमान संविधानलाई आफूले स्वीकार नगरेकाले विभूषण अस्वीकार गरेको सिंहको भनाइ छ । ‘यो सम्मान ग्रहण गर्नु मेरो नैतिक मान्यताविरुद्ध छ । मैले २०४७ को संविधानको षड्यन्त्रपूर्ण हत्यापछि ल्याइएको यो संविधानलाई स्वीकार गरेको छैन। त्यसैले यो संविधानअन्तर्गत दिइएको यो विभूषण मलाई स्वीकार्य छैन।’ सिंहले भने । यस्तै सायमीले पदक वितरण दलीय प्रभावबाट मुक्त हुन नसकेकाले विभूषण नलिने निर्णयमा पुगेको बताए ।

‘सरकारले मलाई प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु,’ उनले ट्वीटरमा लेखेका छन् । यस्तै पत्रकार हरिबहादुर थापाले पनि सुप्रबल जनसेवाश्री पदक अस्वीकार गर्ने घोषणा गरेका छन् ।

सम्मानीत हुनेहरुको नामावली गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको थियो ।