राजनीति

गणेशमानले किन नेपाली जनतालाई भेडा भनेका थिए ? यस्तो छ कारण



काठमाडौँ – नेपाली काँग्रेसका सर्वाेच्च कमाण्डर गणेशमान सिंहको आज २५ औं स्मृति दिवस । जब–जब सिंहको नाम आउँछ, नेपाली जनतालाई भेडा भनेको प्रसंगमाथि पनि चर्चा चल्छ । आखिर किन भनेका थिए सिंहले जनतालाई भेडा ?
नेपाली काँग्रेसका संस्थापक नेता र राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह अस्विकार गरेपछि त्यागी, लौह पुरुष भनिएका गणेशमान सिंहले नेपाली जनता भेडा जस्ता हुन् भनेका थिए । त्यसयता नेता र जनताबीचको सम्बन्धमा खटपट आउँदा भेडा शब्द निकै प्रयोग हुने गरेको छ ।
आखिर किन गणेशमानले जनतालाई भेडा भनेका थिए त ?


२०४६ को जनआन्दोलनको नेतृत्व गणेशमान सिंहले गरेका थिए । काँग्रेसले सर्वोच्च नेता मानेका उनलाई अन्य दलले पनि त्यहीँ रुपमा सम्मानित गर्थे । राजधानीमै भएको एक चुनावमा पुष्पलाल श्रेष्ठसंग मूस्किलले चुनाव जिते । पत्नी मंगलादेवी पराजित भइन् । हुँदा हुँदा काँग्रेसकै सन्त नेता कृष्णप्रसाद भट्टराई समेत पराजित भए । सादगी त्यागी र सन्त नेता भट्टराईको पराजय गणेशमानका लागि सह्य भएन । कुनैबेला जनताले नानीमैयाँ दाहाललाई अत्याधिक मतले जिताएका थिए ।

दाहाल मुखमा जे आयो त्यही बोलेर अराजक नेताको पहिचान बनाउन सफल थिइन् । उनको चर्चा यति चुलिएको थियो कि देशको नेतृत्व नै उनले गर्नुपर्ने काठमाडौंवासीको आवाज थियो । नानीमैयाँ जस्तो अराजक प्रवृत्तिका नेतालाई चुनाव जिताउनेले कृष्णप्रसाद भट्टराई जस्ता विद्धान र अन्तर्राष्ट्रिय उचाई बनाएका नेतालाई पराजय गराएपछि गणेशमान सिंहले जनतालाई आवेगमा आएर भेडा भनिदिए ।

भेडा भनेको एक जनावर हो । भेडाको बथानमा हामीले हेर्यौं भने अगाडिको भेडा जुन दिशामा हिंड्छ बाँकी भेडापनि त्यतै लाग्छन् । अगाडिको भेडा भीरमा खसोस् वा खाडलमा, बाँकी सबै भेडा भीरमै खस्ने निश्चित हुन्छ । यसैकारण कुरा राम्ररी नबुझी भीडको एकोहोरो एकैतर्फ लाग्ने जनताको स्वभावलाई लक्षित गरी गणेशमानले भेडा भनेका थिए । त्यतिबेला उनको यो भनाईमा केही आक्रोश र केही यथार्थ मिश्रण भएको भनेर समर्थन र विरोध दुबै भयो ।

अहिलेसम्म पनि नेपालको राजनीतिक र सामाजिक वृत्तमा भेडा भन्ने विम्व अत्याधिक प्रयोग हुने गरेको छ । अझै निर्वाचनका बेला यो शब्द थप प्रयोग र चर्चामा आउँछ । कुनै नेता वा पार्टीलाई हजुरबुबाले भोट दिए, बाबुले भोट दिए, मैलेपनि दिनुपर्छ भन्ने तवरमा पुस्तैनी राजनीतिक आवद्धता जनाउनु पनि एउटा भेडा प्रवृत्ति हो । जुन नेपाली जनतामा प्रशस्त छ । कुनै दल वा नेताको गुण वा दोष नहेरिकन बाउले के गरे, हजुरबाउले के गरे, मैले पनि त्यही गर्नुपर्छ भन्ने अजीवको मनोसामाजिक चिन्तन नेपाली जनतामा रहेकाले भेडाको विम्बलाई यथार्थका रुपमा हेरिने गरेको छ ।

एकोहोरो कसैको देवत्वकरण र राक्षसीकरणमा जनता लाग्दा सबै राजनीतिक दलमा ७० बर्ष आसपासका बुढाहरु राज चलिरहेको छ ।पटकपटक परिक्षण भएर असफल प्रमाणित भएका प्रधानमन्त्री शेरबहादुर देउवा जस्ता व्यक्ति पाँचौंपटकसम्म प्रधानमन्त्री बनेका छन् ।जनतालाई कुनै परिवर्तन देखाउन सकेका छैनन् । नेपाली काँग्रेसको आगामी १४ औं महाधिवेशनबाट फेरि सभापति हुने दाउमा रहेका देउवाले चुनाव जित्ने पक्कापक्की छ । तर नेपालीलाई भेडा भनेका उनै सिंहका छोरा प्रकाशमान यतिबेला देउवाविरुद्ध चुनाव लड्दैछन् ।

मिल्दा पनि कसैले मिलाईदिनुपर्ने र छुटाईदिदाँ पनि कसैले छुटाईदिनुपर्ने प्रवृत्ति पनि भेडा पन हो । कसैको दास भएर बाँचिरहनुपर्ने र स्वतन्त्र रुपमा चिन्तन गर्न नसक्नु पनि भेडा कै गुण हो ।आज गणेशमानको २५ औ स्मृति दिवसमाहामीलाई उनलाई सम्झिदै गर्दा नेपाली समाजमा भेडा प्रवृत्ति कति हाबी छ, आफैले समिक्षा गर्नुपर्ने भएको छ ।