देश

कोरोनाले सुनसान बनेको बसन्तपुरमा इन्द्रजात्राको रौनक, साइतमै इन्द्रध्वजोत्थान गराइयो


काठमाडौँ – आज काठमाडौँमा इन्द्राजात्राको उत्सव छ । अघिल्लो वर्ष कोरोना महामारीका कारण सुनसान बनेको बसन्तपुर हनुमानढोका क्षेत्रमा आज भने उल्लास छाएको हो । इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो ठड्याउने कार्य गरिएपछि रौनकता छाएको हो ।
इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो र महत्वपूर्ण जात्रा हो । इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापनालाई मानिन्छ । र त्यसपछि इन्द्रजात्राको विधिविधान सुरु हुने परम्परा रहि आएको मानिन्छ । हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो । भाद्र शुक्लपक्ष यँ लाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । जसअन्तर्गत शनिवार हनुमानढोका परिसरमा बिहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वजोत्थान गराइयो । कोरोना संक्रमणको जोखिमको कारण गत वर्ष पूजा बिधि मात्र गरिएको इन्द्रजात्राको इन्द्रध्वजोत्थान यसपाली सम्पूर्ण बिधिबिधान अनुसार उठाइएको हो ।

त्यसोत उठाइएको लिङ्गोको छनौट देखि उठाउने समय सम्म र जात्रा सकिए पछि ढाल्ने सम्मको बिधि साइत हेरेर गर्ने चलन छ । जसअनुसार भदौ २३ गते बुधबार बिहान १०ः५२ मा वनयात्रा गरी इन्द्रजात्राका कार्यक्रमको सुरुआत भएको थियो । त्यसै दिन बेलुकी ७ः२७ मा लिङ्गोका लागि रुख काटिएको थियो । लिङ्गोका लागि रुख काट्नेलगायत सबै साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको थियो । भदौ २९ गते बिहान १०ः३४ बजे भोटाहिटीबाट लिङ्गोलाई नगर प्रवेश गराइएको थियो । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको छ ।

इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ । त्यस्तै असोज ८ गते नानिचा यात्रा गरि सके पछि त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । शनिबार बिहानैबाट बसन्तपुर क्षेत्रमा लिंगो दर्शन गर्ने र रमाइलो गर्न जाने सर्वसाधारणहरुको भीड रहेको छ ।

इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार गई जात्रा अवलोकन गर्ने कार्यक्रम रहेको छ । हिन्दुधर्मावलम्बीहरुको प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् ।