राजनीति

आर्थिक चलखेलले कतार प्रहरीको कोटा गुम्यो : यी हुन् मुख्य खेलाडी


काठमाडौँ – कतार प्रहरीमा जागिर लगाइदिने भनेर २ सय युवाबाट जनहि ७ लाख रुपैयाँ अवैध असुली गरेको अल तौकत ओभरसिज प्रालीको योजना तुहिएको छ । कतार प्रहरीको तलब मासिक २ लाखको हाराहारीमा हुने र अन्य सुविधाहरु पनि आकर्षक हुने भन्दै अल तौकतले नेपाली युवाबाट जनही ७ लाख र भिसा आएपछि थप ३ लाख उठाउने योजना बनाएको थियो । जसअनुसार पहिले किस्ता अर्थात सात लाख चाहिँ आफ्ना एजेन्टहरु परिचालन गरेर संकलन गरिसकेको थियो । फ्रि भिसा, फ्रि टिकट भनिए पनि अल तौकतले २ सय युवाबाट गैरकानुनी रुपमा १४ करोड उठाएर जम्मा गरेको थियो । कतारले सन् २०२१ का लागि नेपालबाट २ सय युवालाई कतार प्रहरीमा लैजाने भनेर माग गरेको थियो ।

यस्तो मागपत्र दूतावासले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको थियो । मन्त्रालय आर्थिक चलखेल गर्न तिर लाग्यो । आर्थिक चलखेल पूरा भएर प्रमाणिकरण गरिदिनू भन्ने जवाफ पठाइसक्दा कतारमा ढिला भइसकेको थियो । मन्त्रालय र दूतावासबीच पनि तादाम्यता नमिलेको बताइन्छ । कतारमा अहिले केपी शर्मा ओली निकट डाक्टर नारदनाथ भारद्वाज राजदूत छन् । नेपाली दूतावासले माग प्रमाणिकरण गरेर पठाएपछि नेपालमा अल तौकतले बाँकी प्रक्रिया कर्मकाण्डी शैलीमा पूरा गर्यो । तर कतारले हालका लागि नेपाली युवा नचाहिने स्पष्ट पारेको छ । कतार सरकारले हालै नेपाली दूतावासलाई एक पत्र लेख्दै, सन् २०२१ का लागि चाहिने २०० युवा अन्यत्रबाट पूर्ति भइसकेकोले हाललाई नेपाली युवा नचाहिने स्पष्ट पारेको छ ।

तर अघिल्लो सोमबार काठमाडौंमा अल तौकत ओभरसिज प्रालीको लाजिम्पाटस्थित आफ्नो कार्यालयमा बाउन्सरहरु समेत राखेर २ सय युवाको अन्तर्वार्ताको कर्मकाण्ड पूरा गरेको थियो । कतार प्रहरीका लागि खुला आवेदन भनिए पनि अल तौकतले पहिले नै लिएको परीक्षामा पास भएका र उसका लागि अवैध ७ लाख तिर्न तयार भएकाहरुलाई मात्रै अन्तर्वार्तामा सामेल गराएको थियो । त्यस्तो अन्तर्वार्तामा वैदेशिक रोजगार सम्बन्धी सरकारी कार्यालयका प्रतिनिधिहरु राख्नै पर्ने प्रावधान भए पनि अल तौकतले आफूखुसी अन्तर्वार्ता लिएर रकम असूली गरेको थियो । कतारले गएको मंसिरबाटै नेपाली युवा लैजाने खोजेको थियो । कतार प्रहरीमा नेपाली युवा लैजाने मामिलामा नेपालका म्यानपावर कम्पनीहरुबीच खटपट भएको थियो भने श्रम स्वीकृति अघि नै अन्तर्वार्ता लिने केही कम्पनीलाई श्रम विभागले कारबाही पनि गरेको थियो ।