राजनीति

विप्लप नेतृत्व नेकपाको केन्द्रीय कमिटी बैठक आजबाट बन्दीपुरमा सुरु


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव तनहुँको पर्यटकीय नगरी बन्दीपुर पुगेका छन् । उनी पार्टीको ११ औं केन्द्रीय कमिटी बैठकमा सामेल हुन बिहीबार नै बन्दीपुर पुगेका हुन् ।


पार्टीको केन्द्रीय कमिटीको बैठक आजदेखि बन्दीपुर गाउँपालिकास्थित एक होटेलमा शुरु हुँदै छ । सो बैठक असोज ५ गतेसम्म चल्ने नेकपाका जिल्ला सचिव एटमले जानकारी दिएका छन् । विप्लव नेतृत्वको नेकपा प्रतिबन्घ फुकुवा भइसकेपछि खुला राजनीतिमा आएर पहिलो पटक बस्न लागेको बैठकमा केन्द्रीय कमिटीका ७६ सदस्य सहभागी हुनेछन् । नेकपाका नेताका सुरक्षाका लागि भनेर पार्टीका पूर्वजनमुक्ति सेना र युवा गरी १५० जनालाई खटाइएको छ ।

बैठकमा पत्रकारहरुलाई भने निषेध गरिएको छ । साथै, बैठकमा सहभागी कुनै पनि नेता वा सदस्यले बैठक अवधिभर कुनै पनि पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था मिलाएको एटमले जनाएको छ । तर, बैठक सकिएपछि भने बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ । बैठक बस्नका लागि हल होटेल सञ्चालकले निःशुल्क उपलब्ध गराएको बताइएको छ ।