समाचार

इन्द्रजात्राको तयारी अन्तिम चरणमा, यस वर्ष धिमे बाजा पनि समावेश गरिने (भिडियोसहित)


काठमाडौँ – काठमाडौँ उपत्यकाको मौलिक सांस्कृतिक पर्व इन्द्रजात्रा तयारी अन्तिम चरणमा पुगेको छ ।

इन्द्रजात्राका लागि भोटाहिटीदेखि हनुमान ढोकासम्म लिंगो ल्याइएको छ । गत वर्ष कोरोना संक्रमणका कारण स्थगित गरिएको जात्रा यो वर्ष इन्द्रजात्रा मनाउने तयारी गरिएको हो ।

गत वर्ष कोरोना कारण रोकिएको इन्द्रजात्रा यो वर्ष भने मनाउने तयारी भइरहेको छ । सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजा आराधना गरेर मनाइने यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने ठूला पर्वहरुमध्ये एक हो । जात्राको अर्को रौनक धिमे बाजा हो । त्यसैले यो वर्षबाट धिमे बाजा पनि समावेश गरिने छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजा अर्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा गरिन्छ । इन्द्रजात्राका लागि भोटाहिटीदेखि हनुमान ढोकासम्म लिंगो ल्याइएको छ । उक्त यःसिंलाई असोज २ गते हनुमानढोकामा ठड्याएर इन्द्रध्वजोत्थान गरिन्छ ।

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यका अनुसार इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ । यस वर्षको इन्द्रजात्रालाई कोरोनाको जोखिमका कारण व्यवस्थित र अनुशासित बनाउन विशेष तयारी भइरहेको उनले बताए । अरुबेला यसवर्ष पनि सुरक्षा निकायसँगको सहकार्यमा जात्राको व्यवस्थापन भइरहेको उनी बताउछन् ।

कोरोना भाइरसका कारण गत वर्ष पूजा आराधना मात्र गरेर यात्रा स्थगित गरिएको थियो । यस वर्ष स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम् उपस्थिति गराएर जात्रा गर्न लागिएको अभियान्त गणपति लाल श्रेष्ठले बताए ।

हर्षा उल्लासका साथ बजाइने धिमे बाजालाई पनि यो वर्ष सम्पदा जोगाउनकै लागि इन्द्रजात्रामा समावेश गरिने गुल्मपति गुरु ज्यू पल्टन सेनानी असिम श्रेष्ठले बताए ।

इन्द्रध्वजाको लिंगो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिंगो ठड्याएको आठौँ दिनपछि इन्द्रध्वज पतन गर्ने अर्थात् लडाउने विधान रहेको छ । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रप्रमुख समेत बसन्तपुर दरबार क्षेत्र जाने प्रचलन रहीआएको छ ।