राजनीति

प्रचण्ड भन्छन् संविधान संशोधनका लागि सडकमा जानु पर्ने हुनसक्छ


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ । पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताउनुभयो ।

राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको भन्दै प्रचण्डले आवश्यक परे सडकमा जानुपर्ने बताउनुभयो । जनता र कार्यकर्ता क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको उहाँको भनाइ छ । प्रचण्डले क्रान्तिकारी विरासत भएको माओवादी आन्दोलन र नेतृत्वले बाटो बिराएको स्वीकारेसमेत गर्नुभयो । युद्धको बेला अप्ठेरो ठाउँमा जिम्मेवारी लिन हानथाप गर्ने पार्टी पंक्ति अहिले गुट बनाएर फाइदा लिन केन्द्रित भएको उहाँको भनाइ छ । प्रचण्डले प्रतिगमन र प्रतिक्रान्तितिर जाने अवस्थाबाट देशलाई आफूहरुले जोगाएको जिकिर पनि गर्नुभयो ।