समाचार

सङ्खुवासभा हत्याकाण्डका आरोपी पक्राउ


काठमाडौँ – सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार हत्या आरोपमा शनिबार बिहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो ।

घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले स्थानीय एक व्यक्तिलाई पक्राउ गरेपछि घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान भने खुलाउन चाहेको छैन । व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिको उमेर २५ देखि ३० वर्षको रहेको र ती व्यक्ति कार्की परिवारको नजिकको नाता पर्ने व्यक्ति भएको प्रदेश प्रहरीले जनाएको छ ।

गत सोमबार मादी नगरपालिका-१ का  बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।