समाचार

सवारी चालक लाइसेन्सको अनलाइन आवेदन बन्द हुँदा सर्वसाधरण समस्यामा (भिडियोसहित)


काठमाडौँ – सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द हुँदा नयाँ सवारीचालकहरु समस्या परेका छन् । परीक्षाका लागि आवेदन दिएर बसेकाहरु पनि आफ्नो पालो कहिले आउछ भन्ने अन्योलमा छन् । यता यातायात व्यवस्था विभागले भने आवेदन दिएकाहरुले असोज पहिलो हप्ताबाट परीक्षामा सहभागी हुन पाउने जनाएको छ । यो वर्ष नै झन्डै १४ लाख सवारी चालकले स्मार्ट लाइसेन्स पाउने विभागको भनाइ छ ।
यातायात व्यवस्था विभागको तथ्याङक अनुसार झन्डै ६ लाख सर्वसाधरण सवारी अनुमति पत्रका लागि आवेदन दिएर बसेका छन् । ७ लाख बढि सर्वसाधरण बसौैदेखि स्मार्ट लाइसेन्सको प्रतिक्षामा छन् । सवारी चालाक अनुमतिपत्र वितरणमा प्रभावकारीता शुन्य हुँदा बर्षौदेखि लार्खौ सेवाग्राही समस्यामा छन । गत बैशाख १६ बाट सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द छ । सवारी चालक अनुमतिपत्र लिन चाहाने सेवाग्राहीले कहिले आवेदन दिन पाउने हो टुङगो छैन । त्यसको प्रत्यक्ष असर नयाँ सवारीचालकहरुमा परेको छ ।

विभागले वैशाख १६ गतेदेखि लकडाउनका कारण बन्द लिखित तथा प्रयोगात्मक परीक्षा सुरक्षा सर्तकता अपनाउँदै भदौ २० गते बाट सुचारु गर्न निर्देशन दिएको छ । उपत्यकाका यातायात कार्यलयहरुले परीक्षा सञ्चालन सुरु गरेका छन् । तथापि तत्काल नयाँ सवारी चालकहरुको लाईसेन्स प्रक्रिया अघि बढाउन नसकिने यातायात कार्यलयले जनाएको छ ।

यता यातायात व्यवस्था विभागले भने असोजबाट नयाँ सवारी चालकहरुले आवेदन दिन सक्ने जनाएको छ । कोरोनाका कारण आवेदन दिएर बस्नेहरुको संख्या ठुलो भएको र फारम भरे पनि तत्काल सम्भव नभएकाले बन्द नै गरेको विभागले जनाएको छ । विभागले दुई महिनाभित्र १४ लाखको संख्यामा स्मार्ट कार्ड आएलगत्तै स्मार्ट लाइसेन्स वितरण गरिने जनाएको छ ।

सवारी अनुमतिपत्र निकाल्न गर्नुपर्ने झन्झटिलो प्रक्रियाबाट नागरिकलाई मुक्त गर्ने उद्देश्यले चुस्त सेवा प्रभाहका लागि प्रविधिमैत्री यातायातको योजना आएको बर्सौ भयो । तर अनलाइन फारम भराउन सरकार असमर्थ देखिन्छ । फ्रान्सेली कम्पनि ‘सेल्प’ले आपूर्ति गर्ने कार्डको विशेषताअनुरुप भारतको ‘मद्रास सेक्युरिटी प्रिन्टर्सले लाइसेन्सको सफ्टवेयरमा परिवर्तन ‘पर्सनलाइजेसन’ गरेपछि बल्ल नेपालले प्रिन्ट गरेर वितरण गर्न सकिन्छ । कार्ड नेपालमा नै प्रिन्ट हुन्छ । विभागका अनुसार प्रतिघण्टा ४ सय ५० को संख्यामा प्रिन्ट हुन्छ । यस्तो अवस्थामा दुई महिना भित्र वितरण गर्ने भनेको स्मार्ट कार्डको समयसीमा यकिन गर्न कठिन छ ।