राजनीति

देउवा र पौडेलबीच छलफल, केन्द्रीय कमिटी बैठक बोलाउन माग


काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टी महाधिवेशनलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री देउवा र नेता पौडेलबीच बालुवाटारमा छलफल भएको हो ।

कांग्रेसले भदौ १८ मा वडा अधिवेशनको मिति तय गरेपनि अझै कतिपय वडामा अधिवेशन हुन सकेको छैन । देउवाकै गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यतासम्बन्धी विवाद कायमै रहेको छ । बागी उम्मेदवारले पनि क्रियाशील सदस्यता पाउनु पर्ने आवाज उठेका छन् । तलबाट पठाइएका नाम काटेर केन्द्रबाट थप गरिएकोमा डडेल्धुरा कांग्रेसले विरोध गरेको छ ।

महाधिवेशनको तयारीलगायतका विषयमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक पनि छलफल गर्ने तयारी छ । उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गर्नुभएको छ । कांग्रेसले मंसिर ९ गतेदेखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।