राजनीति

सरकारी सेवामा पाँच बर्षदेखि भेटिएन सर्वाेत्कृष्ट कर्मचारी, कर्मचारीतन्त्रको प्रभावकारिता शून्य

उत्कृष्ट कर्मचारी विहिन निजामती प्रशासन


काठमाडौँ – हरेक वर्ष भदौ २२ गतेलाई निजामती कर्मचारी दिवसको रुपमा मनाईदै आएको छ । दिवसको अवसर पारेर सरकारले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई पुरस्किृत समेत गर्दै आएको छ । यो वर्ष ४० निजामती कर्मचारी सम्मानित भएका छन् । तर विगत पाँच वर्षदेखि सर्वोत्कृष्ट अथवा राम्रो काम गर्ने निजामती कर्मचारी भने सरकारले पाउन सकेको छैन ।

निजामती कर्मचारी दिवसको अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट ४० निजामती कर्मचारीलाई निजामती सेवा पुरस्कार सहित सम्मान गरेको छ । उत्कृष्ट तर्फ १० जना रनिजामती सेवा पुरस्कार ३० जनालाई वितरण गरिएको छ । १० जनाले जनहि १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले जनहि ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाए । तर गत वर्ष जस्तै यो वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भने सरकारले भेट्टाउन सकेन ।

फलत दुई लाख रुपैया पुरस्कार राशी रहेकोसर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार यो वर्ष पनि वितरण भएन ।‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा सहित निजामती सेवा दिवस मनाइरहेको सरकारले झन्डै ८० हजार कर्मचारीबाट एक जना पनि राम्रो काम गर्ने सर्वोत्कृष्ट निजामती कर्मचारी भने भेटाएन । निजामती क्षेत्रमा सर्वाेत्कृष्ट कर्मचारीनभएको भन्दा पनि प्रशासन आफैले झन्झटमा पर्ने डर र जोखिम लिन नचाहेका कारण सर्वाेत्कृष्ट कर्मचारी छनोट हुन नसकेको कतिपय पूर्व प्रशासकहरुको भनाई छ ।

मुख्यसचिवको संयोजकत्वमा रहने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गर्ने प्रावधान छ । पुरस्कार छनोटका लागि तल्लो तहबाट नै सिफारिस हुँदै आउनु पर्छ । अन्य पुरस्कारहरुका लागि सिफारिस आए पनि सर्वाेत्कृष्ट कर्मचारी छनोटका लागि आधारहरु पुरा गरेका कर्मचारीहरुको सिफारिस तल्लो तहबाट नै न्यून रुपमा आउने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भनाई छ । सिफारिस भएर आएका कर्मचारीहरु पनि सर्वाेत्कृष्ट कर्मचारीका लागि बनाईएको सूचकहरु पुरा नभएका कारण विगत केहि वर्षदेखि छनोट नभएको मन्त्रालयको दावी छ ।

मुलुकको प्रशासन क्षेत्र नागरिकमैत्री नहुनुमा प्रशासन क्षेत्र भन्दा पनि मुलुकको राजनीतिक अवस्था नै भएको धेरैको तर्क छ ।
सरकारले वितरण गर्ने अधिकांश पुरस्कार तथा पदकहरु योग्यताका आधारमा भन्दा पनि राजनीतिक पहुँच र दवावका आधारमा छनोट हुने गरेको तितो यथार्थ छ । यसबाट निजामती कर्मचारीहरुको पुरस्कार छनोट पनि अछुतो छैन ।

अर्को तर्फ सर्वाेत्कृष्ट निजामती कर्मचारी छनोटका लागि बनाईएका आधारहरुमा पनि अवैज्ञानिक र अव्यवहारिक भएको विश्लेषण समेत हुने गरेको छ । यसरी लगातार पुरस्कार छनोट नगर्दा कर्मचारीको मनोवल घट्ने कतिपयको तर्क छ । निजामित सेवा दिवस मनाएको लगभग दुई दशक हुँदा पनि सेवा प्रवाहमा अझै पनि समस्या छ । नेपाल निजामति प्रशासन कहिल्यै नागरिकमैत्री नभएको तितो यथार्थ हामी माझ छ । त्यसैले राम्रो काम गर्ने कर्मचारीको प्रोत्साहन र नागरिकमैत्री प्रशासन बनाउन सरोकारवालाको ध्यान जान जरुरी छ ।