समाचार

कुशे औँसी : बुबाको सम्झानामा पिण्डदान तथा सिदादान गर्नेहरूको भीड (भिडियोसहित)


काठमाडौँ – गोकर्णेश्वरमा गत वर्षको झैँ कुनै विशेष कार्यक्रम नराखेपनि भक्तजनहरुको भने भीड लागेको छ । आज दिन वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले व्राह्मण, पुरोहितले ल्याएको कुश घर–घरमा भित्राउने र उक्त कुश, देव तथा पितृकार्यमा वर्षभर प्रयोग गर्ने गर्दछन् ।

हिन्दु संस्कृतिमा प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन बुबाको सम्मान गर्ने परम्परा रहेको छ । छोराछोरीले गच्छेअनुसार खानेकुरा तथा उपहार दिएर बुबाको मुख हेर्ने गर्दछन् । बुबा नहुनेहरूले घरमै वा तीर्थस्थल पुगेर श्रद्धा अर्पण गर्ने परम्परा रहेको छ । औँसी तिथि पितृका लागि विशेष भएकाले यो दिन गरिने श्राद्धको विशेष महत्व रहने शास्त्रमा उल्लेख छ । आज विशेषगरी काठमाडौँको उत्तरपूर्वमा रहेको गोकर्णेश्वरमा दिवंगत पिताको नाममा तर्पण तथा श्राद्ध गर्नेको घुइँचो लागेको थियो ।

हिन्दु धर्मशास्त्रमा ‘पितृदेवो भव’ अर्थात् जन्मदाता बाबुलाई देवता समान मान भन्ने वचन पाइन्छ । छोराछोरी हुर्काउन अनेक संघर्ष गर्ने भएकाले आमापछि बुबाको स्थान आउँछ । यसैले पनि श्रद्धा र गच्छेअनुसार बुबालाई सम्मान गर्नुपर्ने शास्त्रमा उल्लेख छ ।

भाद्र कृष्ण औँसी कुशे औँसीका नामले पनि चिनिन्छ । यसदिन वर्षभर धार्मिक कार्यमा आवश्यक पर्ने कुश घरघरमा भित्र्याउने परम्परा रहेको छ । देवकार्य तथा पितृकार्यका लागि आवश्यक कुश उखलेर ब्राह्मण पुरोहितले आफ्ना यजमानका घरमा लग्ने चलन रहेको छ ।

आजको दिन अर्थात मंगलबार काठमाडौंमा पशुपति, गौरीघाट, गोकर्णेश्वर र देशका अन्य तीर्थस्थल तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, सुनसरीको बराहक्षेत्र लगायतका धार्मिक स्थलहरुमा पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्ने चलन रहेको छ ।