समाचार

रासन र सरकारी सुविधा वितरणमा गडबढ भएपछि वडा कार्यालयमा धर्ना


काठमाडौँ – सर्लाहीको मलंगवा नगरपालिका वडा न–७, मुसैलीका स्थानीय दलित समुदायका महिलाहरु आफ्नो वडामा रासन तथा अन्य सरकारी सेवा सुविधाहरुको वितरणमा अनियमिता भएको भन्दै सोमबारदेखि जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा बसेका छन् ।

सरकारले पठाएको सेवा सुविधाहरु लिन जादा वेवास्ता गर्दै उल्टै झपारेर पठाउने गरेकाले बाध्य भएर धर्नामा बस्नु परेको पीडितहरुले बताए ।
सर्लाहीको मलंगवा नगरपालिका वडा न.–७, मुसैलीका स्थानीय दलित समुदायका महिलाहरु आफ्नो वडामा रासन तथा अन्य सरकारी सेवा सुविधाहरुको वितरणमा अनियमिता भएको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा बसेका छन् ।

गरपालिकाले स्थानीय तहको चुनाव सम्पन्न भए देखि हालसम्म ४ वर्षको अवधीमा दलित परिवारको लागि आएको रासन लगायत अन्य कुनैपनि सरकारी सुविधाको बारेमा आफुहरुलाई जानकारी नगराइ लक्षित समुदायको लागि आएका सेवा सुविधाहरु चुनाव जितेर गएका जनप्रतिनिधिका आफन्त, कार्यकर्ता तथा बोल्न सक्ने धनी व्यक्तिहरुलाई मात्र वितरण गरेर अनियमितता गरेकोले धर्नामा बसेका स्थानीय दलित समुदायका महिलाहरुले बताएका छन् ।

सरकारले आफुहरुको लागि पठाएको सेवा सुविधाहरु लिन र सो को बारेमा जानकारी लिन पटकपटक वडा कार्यालय र नगरपालिका धाइरहँदा आफुहरुको मागप्रति वेवास्ता गर्दै उल्टै झपारेर पठाउने गरेकाले बाध्य भएर प्रमुख जिल्ला अधिकारीलाई आफ्नो पीडा सुनाउन जिल्ला प्रशासन अगाडी धर्ना दिनुपरेको धर्नाका नेतृत्वकर्ता एवं स्थानीय अगुवा नेता मलंगवा वडा न–७ मुसैलीका मोहम्मद इसा मिकरानीले बताए ।

नगरपालिकाले गरिब र दलितहरुको लागि भनेर आएका रासन, घर बनाउनका लागि जस्तापाता, खानेपानीको लागि हैण्ड पाइप, दैवीप्रकोपको अवस्थामा प्रदान गरिने क्षतिपूर्ति वापतको रकम लगायत अन्य विभिन्न सुविधा तथा अनुदानहरुबाट आफुहरुलाई बन्चित गराएर यहाँका निर्वाचित जनप्रतिनिधिहरु आफ्ना आफन्त र आसेपासेहरुलाई प्रदान गर्ने गरेको धर्नामा बस्नुपरेको पीडित महिलाहरुको आरोप छ ।

धर्नामा बस्नु अगाडी मलंगवाको वडा न–७ मुसैलीबाट सयौंको संख्यामा आएका स्थानीय दलित समुदायका महिला, पुरुष तथा बालबालिकाहरु वडाअध्यक्ष र मेयरको विरुद्धमा नाराबाजी गर्दै नगरको परिक्रमा समेत गरेका थिए । सोमबारै उनीहरूले प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।