समाचार

पाटन सङ्ग्रहालय भोलीदेखि खुला गरिने



काठमाडौँ – पाटन दरबार क्षेत्र मङ्गलबजारमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ भोली बुधबारदेखि खुला गरिने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सोमबार एक सूचना जारी गर्दै यही भदौ २३ गतेदेखि सङ्ग्रहालय लगायत दरबार क्षेत्रका साथै अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी गराएका हुन् ।

दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द गरिएको थियो । संक्रमणको पहिलो लहरअघि अर्थात समान्य अवस्थामा उक्त संग्रहालयमा दैनिक लगभग चारदेखि पाँच सय आगन्तुकले भ्रमण गर्ने गरेका थिए ।

कोरोना संक्रमणको दोस्रो लहरलाई लक्षित गरी पछिल्लो चार महिना अघिदेखि संग्रहालय बन्द छ । दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले समेत ३५औँ कला नगरी घोेषणा गरिसकेको छ ।

सो क्षेत्रमा मुलुकमै शिखर शैलीमा ढुङ्गै ढुङ्गाबाट निर्मित २१ गजुर भएको कृष्ण मन्दिर अनि भीमसेन मन्दिर तथा चारनारायण मन्दिर र नरसिंह मन्दिर रहनाका साथै अशोक स्तम्भ र हिरण्यवर्ण महाविहार आदिसमेत रहेका छन् । पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि मनाइन्छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहको पाटन सङ्ग्रहालय स्थापना भएको २१ वर्ष पूरा भएको छ विकास समिति ऐन, २०१३ अनुसार विसं २०५३ मा पाटन सङ्ग्रहालय विकास समिति गठन गरी विसं २०५४ कात्तिक १२ गतेदेखि सञ्चालनमा आएको हो ।