देश

अविरल वर्षाले देशैभरको जनजीवन प्रभावित, उपत्यकाका नदी आसपासका बस्ती डुवानमा (भिडियोसहित)


काठमाडौँ – गएरातिबाट परेको अविरल वर्षाका कारण देशैभरको जनजीवन प्रभावित बनेको छ । देशभर विभिन्न स्थानमा बाढी पहिरोका कारण केहि मानिसको ज्यान समेत गएको छ । काठमाडौ उपत्यकामा समेत नदी किनार छेउ र होचा स्थानका बस्तीहरु डुवानमा परेको छन् । बाग्मती किनार वरपरका बस्तीहरु विशेषत प्रभावित बनेका छन् । यो बाग्मती नदी किनारमा रहेकोकाठमाडौ महानगरपालिका वडा नम्बर १४ बल्खुको सुकुम्बासी बस्ती हो । अहिले यो बस्तीलाई जागरण टोलको नामले चिनिन्छ ।

बाग्मती नदीसँगै टाँसेर बनाइएका यी टहराहरुमा संयौ परिवारले ओत लगाइरहेका छन् । यो बस्तीमा यहाँको टोलविकास समितिका अनुसार ४ सय ३८ घरधुरी रहेको तथ्याङ्क छ । आइतबार मध्यरातदेखि सोमबार विहानसम्म परेको भारी वर्षाले यहाँका अधिकांश घरहरु डुवानमा प¥यो । सोमबार विहान हामी पुग्दा सबै स्थानीय आफ्नो घरभित्र छिरेको पानी फाल्ने,पानीले रातभरी भिजेको लुगा सुकाउने,फेरि प्रयोग गर्न मिल्ने सामानहरु सार्ने,घर सफा गर्नेलगायतका काममा व्यस्त थिए ।

त्यति मात्र होइन आज खाना कहाँ खाने कस्कोमा खाने विषयमा समेतउनीहरु छलफल गर्दै थिए । कतिपयको टहरा भत्कियो, कतिपयले बल्ल तल्ल भागेर ज्यान बचाएको सुनाए । घर भएपनि क्रृण गरेर जोडेका सामानहरु कामै नलाग्ने भए । विहानबाट बेलुका कता बास बस्ने भन्ने चिन्तामा उनीहरु देखिन्थे ।

बस्ती डुवानमा परेपछि उद्धारका लागि नेपाल प्रहरी आएर सहयोग गरे तर आफुहरुले निर्वाचनमा भोट हालेका जनप्रतिनिधि भने आएन्न । आफुहरुले सम्पर्क गर्दा पानी र हिलोमा आउन नसक्ने भन्दै पानी रोकिएपछि आउने बताएको भन्दै स्थानीय आक्रोश देखिन्छ । आफुहरुको बस्तीमा जोखिम कम गर्न पर्खाल निर्माणको लागि पहल गरिरहको उनीहरुले बताए । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार उपत्यकामा ३ सय ८५ घर डुवानमा परेको र २ सय बढी मानिसहरुको उद्धार गरिएकोे प्रहरीले जनाएको छ ।

उपत्यकाका बल्खु तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार आदी डुवानमा परेका थिए । नदीको वहाव बढेका कारण उपत्यकासँगै नदी किनार वरपर रहेका र होचो स्थानमा रहेको बस्तीहरु बाढी र डुवानको जोखिममा पर्दै आएका छन् । तर हरेक वर्ष वर्षाका कारण निम्तिने जोखिम व्यवस्थापन र विपत्त न्यूनिकरणमा सरकारको सक्रियता भने शुन्य जस्तै छ ।