देश

काठमाडौँका मुख्य चोक अझै पनि सफा हुन सकेन


काठमाडौँ – काठमाडौँ महानगरपाललिकाले चार दिनदेखि फोहोर उठाउन थाले पनि मुख्य—मुख्य चोक अझै पनि सफा हुन सकेको छैन । अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहोर गत बुधबारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहोरको डङ्गुर अझै उस्तै नै छ ।

नियमित परेको पानी र हाल फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन । लामो समयदेखि फोहोर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको काठमाडौँ महानगरपालिकाको भनाइ छ ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिकटन फोहोर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिएको छ ।