राजनीति

काँग्रेसमा परम्परा तोड्दै सभापतिमा गुरुङको विद्रोह


काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशन हुने लगभग निश्चित जस्तै बनेपछि नेतृत्व दाबेदारहरु सार्वजनिक हुन थालेका छन् ।सभापतिका लागि संस्थापन पक्षका तीन नेता अघि सरेका छन् भने इतर समुहबाट प्रमुख रुपमा ४ जना आकंक्षी छन् । तर उम्मेद्वार एक बनाएर जाने सम्भावना भने देखिएको छैन ।

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिकोउम्मेद्वारी घोषणा गरेका कल्याण गुरुङले आफु कुनै पनि हालतमा पछाडी नसर्ने र सभापति लडेरै छोड्ने अठोट लिएका छन् । युवाहरु पार्टीको नेतृत्वमा पुग्नैपर्छ भन्ने बहस चलिरहेका बेला गुरुङले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका ४ प्रमुख आकंक्षीलाई टक्कर दिन सभापतिको उम्मेद्वारी घोषणा गरेका छन् । २०६४ सालमा नेविसंघको नेतृत्व सम्हालेका गुरुङ १२ औं महाधिवेशनपछि काँग्रेस केन्द्रीय समितिमा छन् ।उनको उम्मेद्वारीलाई लिएर कतिपयलेनेतृत्वसंग बाग्रेनिङ र घुर्कि लगाएको अर्थमा विश्लेषण गरिरहेका छन् । तर गुरुङले आफ्नो उम्मेद्वारी बाग्रेनिङ टूल्स नभई चुनाव जित्नका लागि भएको दाबी गर्छन् ।

छैटौंपटक परिमार्जन गरिएको कार्यतालिका अनुसार बल्लतल्ल विवाद मत्थर भएर नेपाली काँग्रेसलेतोकिएकै मंसिर ९ देखि १३ सम्म महाधिवेशन गर्ने छनक देखाएको छ ।योसंगै नेताहरुले इच्छाअनुसारको उम्मेद्वारी दिन थालेका हुन् । सभापतिका लागि देउवाले पुनः दोहोरिने तयारी गरेका छन् । यसअघि पौडेल पक्षबाट आदीबासी जनजातीतर्फ केन्द्रीय सदस्य जितेका गुरुङले १४ औं महाधिवेशनमा विद्रोह नै गरेर आफु नेतृत्वमा आउनेदाबी गरेका छन् ।यसबाहेक १३ औं महाधिवेशनपछि पनि देउवाको विश्वास पात्रका रुपमा रहेका उपसभापति बिमलेन्द्र निधिले समेत गत शुक्रबार उम्मेद्वारी घोषणा गरेका थिए ।देउवासहित संस्थापनमा क्रियाशिल नेताहरुको उम्मेद्वारी टुङगीए पनि संस्थापनइतर पक्षले भने हालसम्म कसलाई सभापति बनाएर जाने टुंगो लगाएको छैन । संस्थापनइतर समुहको नेतृत्व गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका प्रमुख दाबेदार मानिएका छन् । यी चारैजना आकांक्षीले आफूलाई बलियो उम्मेदवारका रुपमा पेश गर्दै आएपनि देउवासहितका उम्मेद्वारलाई हराउन एक उम्मेद्वार बनाएर जानु पर्ने मत इतर समुहमा छ । तर सहमति भएको छैन ।

संस्थापनइतर समुहको तर्फबाट कृष्णप्रसाद सिटौला पनि सभापतिको स्वभाविक उम्मेद्वार हुन् । तर सिटौला भन्दा देउवाले पौडेल पक्षलाई आफ्नो मुख्य प्रतिस्पर्धि मानेका छन् ।पौडेल पक्षका नेताहरुले भने देउवालाई पराजित गर्न एकल उम्मेदवारीको अपरिहार्यता रहेको निष्कर्ष निकालेछन् । तर चारै जना आकंक्षीले आफु भएमात्रै देउवालाई हराउन सक्ने भन्दै अरुलाई छाड्न आग्रह गरेका छन् ।

पौडेल पक्षका सभापतिका आकंक्षीबीच भइरहेका छलफलमा कसैले कसैको नेतृत्व स्वीकार नगरेको अवस्था छ । त्यसबाहेक इतर पक्षको नेतृत्व गरेका वरिष्ठ नेता पौडेललाई समेत सबैले साझा नेताको रुपमा लिएका छैनन । यसले देउवाबाटै नेतृत्व खोस्नै पर्ने बताएपनि इतर पक्षले एक उम्मेद्वारी बनाएर जान सक्ने सम्भावना न्यून देखिन्छ ।